पोखरा । नेपाली कांग्रेसले ७७ जिल्लाका सभापतिहरुलाई माघ २२ र २३ गते पोखरामा प्रशिक्षण दिने भएको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले दुई दिने कार्यक्रम राखेर जिल्ला सभापतिहरुलाई पोखरामा प्रशिक्षण दिन लागेको हो ।
प्रशिक्षण कार्यक्रम पोखराको फूलबारीस्थित केसी क्याटरिङमा हुने नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी गराए । उनका अनुसार प्रशिक्षण कार्यक्रममा ७७ वटै जिल्लाका सभापति, प्रशिक्षण प्रतिष्ठानका प्रमुखसहित करिब २ सय सहभागी हुनेछन् । प्रशिक्षणमा केन्द्रबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायत पदाधिकारीहरु उपस्थित हुने बरालले जानकारी गराए ।
स्रोत व्यक्तिका रुपमा प्रशिक्षण विभागका अन्य सदस्यहरु पनि सहभागी हुनेछन् । प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमका लागि प्रत्येक जिल्लाका उपसभापति समेत सहभागी हुनेछन् । कांग्रेसको विधान अनुुसार सबै तहमा नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख उपसभापति हुने व्यवस्था छ ।