कास्कीमा रात्रिकालीन बस र ग्रामीण रुटका सवारीमा रोक

अतिभारी वर्षााको सम्भावना

कास्कीमा रात्रिकालीन बस र ग्रामीण रुटका सवारीमा रोक

cdo-office-kaski

फाइल तस्बिर ।

पोखरा । प्राकृतिक विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण र पूर्वतयारीका लागि जिल्ला विपद् व्यवस्थापन समिति कास्कीले कडा सुरक्षात्मक निर्णयहरू गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण कास्की जिल्लासहित देशका विभिन्न भागमा असोज ९ गतेदेखि ११ गतेसम्म भारी तथा अतिभारी वर्षाको सम्भावना रहेकोले जिल्ला प्रशासन कार्यालयले सतर्कताको लागि सार्वजनिक अपील गरेको हो । कास्कीमा असोज ८ र  ९ गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय भएको छ ।
प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको अध्यक्षतामा बिहीबार बसेको बैठकले आम नागरिकको सुरक्षालाई ध्यानमा राख्दै यातायात, पर्यटन र दैनिक क्रियाकलापमा विभिन्न प्रतिबन्ध तथा सतर्कताका उपायहरू लागू गरेको हो । भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै कास्की जिल्लाबाट अन्य जिल्लाका लागि छुट्ने रात्रिकालीन बस तथा सवारी साधनहरू पूर्ण रूपमा बन्द गरिएको छ । यसैगरी, कास्कीका ग्रामीण क्षेत्रहरूमा चल्ने सवारी साधनहरूलाई दिउँसो ४ बजेपछि सञ्चालन गर्न रोक लगाइएको छ । मौसमको अवस्था हेरेर मात्र उच्च सावधानीका साथ छोटो दुरीका सवारी चलाउन र जोखिमयुक्त सडक खण्डहरूमा गाडीहरू ‘होल्ड’ गर्न व्यवसायीहरूलाई निर्देशन दिइएको छ ।

पर्यटकहरूको सुरक्षाका लागि अन्नपूर्ण संरक्षण क्षेत्र लगायतका सम्पूर्ण पदमार्गहरूमा पदयात्रा पूर्ण रूपमा बन्द गरिएको छ । पदयात्रामा निस्किसकेका पर्यटकहरूलाई तत्काल सुरक्षित स्थानमा फर्कन सूचना जारी गरिएको छ । साथै, पोखरा र आसपासका क्षेत्रमा सञ्चालन हुने साहसिक खेलहरू जस्तै प्याराग्लाइडिङ, बन्जी जम्प, कायकिङ र जिपलाइन भारी वर्षाको अवधिभर पूर्ण रूपमा बन्द रहनेछन् । खराब मौसम सुरु हुनासाथ फेवाताल र बेगनासतालमा डुङ्गा, सर्फिङ तथा जल पर्यटनका सम्पूर्ण गतिविधि रोक्न व्यवसायीहरूलाई सचेत गराइएको छ । सबै स्थानीय तहहरूलाई नदी तटीय र पहिरोको जोखिमयुक्त क्षेत्रका बस्तीहरूमा सूचना प्रवाह गर्न र आवश्यक परेमा नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तयारी अवस्थामा रहन भनिएको छ ।

स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र, खोज तथा उद्धार सामग्री, डोजर र जेसिबी जस्ता उपकरणहरू तयारी अवस्थामा राखिएका छन् । जिल्लास्थित अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई एम्बुलेन्स र शववाहनसहित डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरूलाई २४ सै घण्टा ‘स्ट्यान्डबाई’ राख्न भनिएको छ भने विपद्को समयमा तत्काल परिचालन हुन सक्ने गरी हेलिकप्टर कम्पनीहरूलाई पनि तयारी अवस्थामा रहन निर्देशित गरिएको छ । सडक विभाग र सुरक्षा निकायहरू विपद् व्यवस्थापनका लागि उच्च सतर्कताका साथ तैनाथ भएका छन्। प्रशासनले आम नागरिकलाई अत्यावश्यक अवस्थामा बाहेक लामो वा छोटो दुरीको यात्रा नगर्न अपील गरेको छ । बाढी र भेल आउन सक्ने भएकाले नदी तथा खोला किनारमा माछा मार्न, पौडी खेल्न, नुहाउन, लुगा धुन वा ढुङ्गा–बालुवा निकाल्न जान पूर्ण रूपमा निषेध गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चितांगत बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै