बाढी पहिरोको जाेखिमले कास्कीमा दुई दिन विद्यालय बन्द

बाढी पहिरोको जाेखिमले कास्कीमा दुई दिन विद्यालय बन्द

images

पोखरा ।  कास्कीमा सञ्चालित सबै सामुदायिक तथा संस्थागत  असोज ८ र ९ गते दुई दिन स्थानीय बिदा दिने  निर्णय भएको छ ।   बाढी, पहिरो तथा अतिवृष्टिको सम्भावना रहेकाले  कास्कीका सबै विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिने निर्णय भएको शिक्षाा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लाेकनाथ आचार्यले जानकारी दिए । पाँच वटै स्थानीय तहसँग सल्लाह गरेर बिदा दिने निर्णय भएको उनको भनाइ छ ।

पोखरा महानगरपालिकाले पनि  महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ।  बाढी, पहिरो तथा अतिवृष्टिको सम्भावना रहेकाले आज ८ गते र भोलि ९ गते विद्यालयहरू बन्द गर्न सूचना जारी गरिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले  बताएका छन्।

मौसम प्रतिकूल बन्दै गएको र विपद्को जोखिम बढेकोले पूर्वसावधानी अपनाउनका लागि यो निर्णय लिइएको हो। यसअघि शिक्षा मन्त्रालयले पनि आज र भोलि विद्यालय बिदा गर्न आग्रह गरेको थियो। मन्त्रालयको सोही आग्रहलाई समेत मध्यनजर गर्दै महानगरले आफ्ना क्षेत्रभित्रका सम्पूर्ण विद्यालय बन्द गराएको छ।

अतिक्रमण र जोखिमबाट बच्नका लागि विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण महानगरवासीलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन महानगरले अनुरोध गरेको छ। ‘सुरक्षा नै पहिलो प्राथमिकता हो, सतर्क रहौँ, सुरक्षित रहौँ,’ सूचनामा भनिएको छ। बिदा दिएका यी दुई दिनको पठनपाठनलाई क्षति नपुग्ने गरी पछि अन्य सार्वजनिक बिदासँग समायोजन गरिने महानगरले जनाएको छ। विपद्को यो समयमा सबैलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

प्रतिक्रिया

भर्खरै