लोमन्थाङमा त्रास, एक सातामा ३० पटकभन्दा बढी परकम्प

लोमन्थाङमा त्रास, एक सातामा ३० पटकभन्दा बढी परकम्प

लोमन्थाङ-केन्द्रबिन्दु

मुस्ताङ ।  उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–३ फुवा गाउँका कार्साङ गुरुङ भूकम्पले भत्काएको आफ्नै घरभित्र छिर्न डराइरहनु भएको छ । भूकम्पले घर भत्किएपछि रातको समयमा आफन्तको घर र त्रिपालमा बिताउनुभएकी कार्साङ निरन्तरको परकम्पनबाट थप त्रसित हुनुहुन्छ । लोमन्थाङ गाउँपालिका–१ का खेतुक गुरुङको घर पनि भूकम्पले चर्किएको छ । छिमेकीसँगै बारीको पाटोमा त्रिपाल हालेर दिनरात बिताउँदै आउनुभएका खेतुक क्षतिको विवरण सङ्कलन गर्न प्राविधिकको टोली घरदैलोमा आए पनि राहत तथा पुनःस्थापनाको पर्खाइमा हुनुहुन्छ ।

गत साता लोमन्थाङ क्षेत्रमा केन्द्रबिन्दु भएर गएको ५.३ रेक्टर स्केलको भूकम्पबाट गाउँपालिकाभित्रका पाँचवटै वडाका अधिकांश कच्ची घर चर्किएका छन् । गाउँपालिकाले भूकम्पबाट क्षति भएकालाई प्रारम्भिक चरणमा लगत सङ्कलनसहित ४२० थान त्रिपाल वितरण गरेको छ ।लोमन्थाङ–१ की वडा सदस्य छिरिङ युटिन गुरुङले भन्नुभयो, “छिनछिनमा परकम्प आइरहन्छ, परकम्प आउँदा मन सिरिङ हुन्छ ।”

अधिकांश स्थानीय प्रविधिबाट निर्मित माटोका कच्ची घर चर्किएपछि रातको समयमा भत्किने डरले घर छोडेर कोही पालमा र कोही आफन्तको घरमा बस्ने गरेको वडा सदस्य गुरुङको भनाइ छ । अधिकांश घरमा चिरा परेकाले प्राविधिकको प्रतिवेदनका आधारमा मर्मत गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटन लम्सालले बताउनुभयो । “प्राविधिकसहितको टोलीले लगत सङ्कलन गरिरहेको छ । चर्किएका धेरै घर बस्नलायक छैनन्,” उहाँले भन्नुभयो ।

भूकम्पलगत्तै गाउँपालिका, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनासहित स्थानीय जनप्रतिनिधि र सङ्घसंस्थाको सहयोगमा पूर्ण, आंशिक र सामान्य क्षतिको विवरण सङ्कलन भइरहेको छ ।भूकम्पका कारण पक्कीबाहेक अधिकांश कच्ची घरमा चर्किएको देखिन्छ । स्थानीय विद्यालय, गुम्बालगायत सामुदायिक भवनमा समेत क्षति भएपछि कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली र गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री नम्डु गुरुङको टोलीले समेत स्थलगत निरीक्षण गरेको थियो ।

सोही अवसरमा प्रदेश मन्त्री गुरुङको संयोजनमा मन्त्रालय तथा नेपाल रेडक्रस सोसाइटीको संयुक्त सहयोगमा एक सय थान ठुला पाल, एक सय कम्बल र म्याट्रेसलगायत राहत सामग्री प्रभावितलाई उपलब्ध गराइएको थियो । भूकम्पले दिव्यदीप माध्यमिक विद्यालयको आवासीय छात्रावासमा समेत असर गरेको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले भूकम्पपछि केन्द्रबिन्दु आसपासका क्षेत्रमा ३० पटकभन्दा बढी परकम्पन मापन गरिएको बताउनुभयो । केन्द्र प्रमुख अधिकारीले भन्नुभयो, “परकम्पनबाट सतर्कता अपनाउनुपर्छ, अति त्रसित हुन आवश्यक छैन । जोखिम भएका भौतिक संरचनाको आसपास बस्दा क्षति हुन सक्छ ।” लोमन्थाङ गाउँपालिकामा भूकम्पबाट भएको पूर्ण, आंशिक र सामान्य क्षतिको प्रारम्भिक विवरणसँगै जिल्ला प्रशासन कार्यालय, पूर्वाधार कार्यालय तथा स्थानीय तहका प्राविधिकको टोलीले अन्तिम विवरण दिएपछि थप राहत तथा पुनःस्थापनाका कार्यक्रम अघि बढाउने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै