पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास, अब केन्द्रीय कमिटीमा पेस हुने

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास, अब केन्द्रीय कमिटीमा पेस हुने

_cpn-uml-1

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको छ । सोमवार च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न सचिवालय बैठकले सो निर्णय गरेको बैठकपछि एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

उनका अनुसार सचिवालय बैठकले केन्द्रीय समितिका लागि आवश्यक एजेण्डाहरूको सूची पनि तयार पारेको छ । उक्त सूचीमा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन र अध्यक्षको राजनीतिक प्रतिवेदनलगायतका विषयहरू समावेश छन् । पार्टीभित्र लामो समयदेखि चर्चामा रहेको कार्यदलको प्रतिवेदन र त्यसमा भएका विवादास्पद विषयहरूबारे उपमहासचिव भट्टले कार्यदलको काम सकिएको र प्रतिवेदनलाई औपचारिक रूपमा केन्द्रीय समितिमा लैजाने प्रक्रिया शुरु भएको बताए ।

‘हिजो कार्यदलले प्रतिवेदन बुझाएपछि कार्यदलको औचित्य सकिएको छ । प्रतिवेदनमा समावेश सुझावहरूलाई अब अनुसूचीका रूपमा केन्द्रिय समितिमा प्रस्तुत गरिनेछ,’ उनले भने । पार्टी अध्यक्षको रिजर्भेसन (विमति) का बारेमा सोधिएको प्रश्नमा भट्टले विशेष महाधिवेशन र नेतृत्व परिवर्तनजस्ता विषयहरूमा पहिले नै सहमति भइसकेको र अहिले त्यसमा कुनै विवाद नरहेको बताए ।

२९ पृष्ठ लामो प्रतिवेदन परिमार्जनसहित पारित भइसकेकाले अब त्यसमा थप बहसको आवश्यकता नरहेको उनको भनाइ थियो ।केन्द्रीय समितिमा पार्टी पुनर्गठनका विषयमा केही नेताहरूले आवाज उठाउने तयारी गरिरहेको सन्दर्भमा उपमहासचिव भट्टले बैठकको थप प्रक्रिया र त्यहाँ हुने बहसका आधारमा नै आगामी रणनीति तय हुने बताए । साभार अनलाइन खबर डटकम ।

प्रतिक्रिया

भर्खरै