समाजिक सञ्जाललाई व्यवस्थित गर्ने कानुन बन्दैछ : सञ्चार मन्त्री गुरुङ

समाजिक सञ्जाललाई व्यवस्थित गर्ने कानुन बन्दैछ : सञ्चार मन्त्री गुरुङ

radio nepal

पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नका लागि नियमन गर्ने कानुन निर्माणको काम भइरहेको बताएका छन् ।

सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालले बुधबार पोखरामा आयोजना गरेको ‘राष्ट्र भाषाको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका’ विषयक अन्तक्र्रियामा मन्त्री गुरुङले सामाजिक सञ्जालमा धेरै नै अराजकता रहेकाले त्यसलाई नियमन गर्न आवश्यक भएकाले कानुन निर्माणमा सञ्चार मन्त्रालय जुटेको बताए । कानुन आएपछि युट्युब, फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा देखिने अराजकतालाई अन्त्य गर्दै अनुशासित बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अनलाइन मिडियामा पनि अराजकता देखिएकाले यसलाई पनि व्यवस्थित र नियमन गर्न आवश्यक भएको बताए । अनलाइनलाई नियमन गर्न मिडिया काउन्सिल विधेयक ल्याउने सरकारको तयारी रहेको उनले बताए । साइबर अपराध रोक्ने कानुन पनि निर्माणको चरणमा रहेको उनको भनाइ छ । नेकपा एमालेका उपमहासचिव समेत रहेका मन्त्री गुरुङले पछिल्लो समयमा इन्टरनेटका माध्यमबाट अपराध, भइरहेकाले साइबर क्राइम रोकथाम गर्नु आवश्यक रहेको पनि बताए । यसका लागि साइबर सेक्युरिटी सम्बन्धी विधेयक तयार गरेर यहीँ वर्ष भित्रमा कार्यान्वयनमा ल्याउने गरी मन्त्रालय लागि परेको उनले सुनाए ।

मन्त्री गुरुङले हाल ९३ प्रतिशत जनताको पहुँचमा पुगेको दाबी गरिएको रेडियो नेपाल र ७२ प्रतिशतको पहुँचमा पुगेको दाबी गरिएको नेपाल टेलिभिजनको पहुँच सबै नेपालीमा यस वर्षभित्र पु¥याइने उल्लेख गरे । सरकारी सञ्चार माध्यम पुराना ऐनहरूबाट सञ्चालन भइरहेको उल्लेख गर्दै सार्वजनिक सेवा प्रसारण कार्यान्वयनपछि यो क्षेत्रमा नयाँ आयाम थपिने दाबी उनले गरे । मन्त्री गुरुङले रेडियो नेपाल सबैले सुन्ने राष्ट्रिय माध्यमको रुपमा विस्तार हुनुपर्नेमा जोड दिए । रेडियोले सबै राष्ट्र भाषामा समाचार र कार्यक्रम प्रसारण गर्दै जानुपर्नेमा उनको जोड थियो ।

रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले रेडियाले अहिले २५ भाषामा समाचार तथा कार्यक्रम प्रसारण गरिरहेको जानकारी दिए । आगामी दिनमा स्थानीय, प्रदेश र संघ सरकारसँगको सहकार्यमा अन्य भाषामा पनि ध्यान दिने उनले सुनाए । रेडियोका निर्देशक पुष्करराज गौतमले गण्डकी प्रदेशको गोरखामा नयाँ एफएम स्टेशन बनाएर प्रसारण अझ विस्तार गर्ने तयारीमा रहेको जानकारी दिए । आगामी वर्षदेखि केही नयाँपनका साथमा रेडियो अघि बढ्ने उनको भनाइ थियो । रेडियोका कार्यक्रम महाशाखा प्रमुख ताराप्रसाद वस्तीले रेडियो नेपालले समावेशितामा ध्यान दिदैं कार्यक्रम र समाचारको सामाग्री तयार गर्दै आइरहेको बताए ।

कार्यक्रममा रेडियो नेपाल प्रादेशिक कार्यालय पोखराका प्रमुख शान्ति गुरुङले २०५० साल चैत बाट क्षेत्रीय प्रसारण सुरु भएको र अहिले पोखराबाट मगर र गुरुङ भाषामा समाचार प्रसारण हुने गरेको जानकारी दिइन् । रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत तथा लोक गायक पुरुषोत्तम न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया