‘लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक–अर्काका परिपूरक’

‘लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक–अर्काका परिपूरक’

राष्ट्रिय मानव अधिकार आयोग Final

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक–अर्काका परिपूरक रहेको बताएका छन्।

राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालय पोखराद्वारा आयोजित वार्षिक गतिविधि पुस्तिका २०८०/८१ (वर्ष पुस्तक) हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन्।

आयोगले मानव अधिकारको सम्मान र संरक्षणमा स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका सम्पादन गर्दै आइरहेको प्रदेश प्रमुख भट्टको भनाई छ।

प्रदेश प्रमुख भट्टले मानव अधिकारको विषय सामान्य जस्तो लागे पनि अत्यन्त गंभीर रहेको उल्लेख गरे।

यसको पालनामा सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए।

उनले भने, ‘मानव अधिकार सबैका लागि हो। आवाजविहीन र सीमान्तकृत समुदायका हकअधिकार स्थापित गर्न, मानव अधिकार प्रत्याभूत गर्न आयोगले महत्वपूर्ण भूमिका छ। मानव अधिकार उल्लंघन सूचकांकमा गण्डकी प्रदेश मध्यम स्थानतिर छ। यस्ता घटना हुनै नदिनेतर्फ सबै सजग र जिम्मेवार हुनुपर्छ।’

राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सरकार सदैव प्रतिबद्ध रहने उनले स्पष्ट पारे।

प्रदेश प्रमुख भट्टले आयोगलाई भौतिक स्रोतसाधन र आवश्यक पर्ने बजेट विनियोजन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

मानव अधिकार आयोगसहित अन्य आयोगबाट भएका सिफारिस कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहने उनको भनाई छ।

प्रदेश प्रमुख भट्टले आफ्नो अधिकारको प्रयोग गरिरहँदा अरुको अधिकार हनन गर्न नहुनेमा जोड दिए।

उनले समाजमा सकारात्मक परिवर्तन ल्याउन कानुनी शासन आवश्यकपर्ने भन्दै यसका लागि सबै एकजुट भएर सहकार्य गर्दै अघि बढ्नुपर्नेमा उनको जोड थियो।

राष्ट्रिय मानव अधिकार कार्यालय पोखराका प्रमुख नितु गड्तौलाले प्रदेश प्रमुख भट्टलाई वर्ष पुस्तक हस्तान्तरण गर्दै प्रदेशमा विद्यमान मानव अधिकारको समसामयिक अवस्थाका बारेमा जानकारी गराएका छन्।

प्रतिक्रिया