पोखरा । केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेटको शनिबारको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले पहिलो जित निकालेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा समूह ‘सी’ तर्फको कर्णाली एकेडेमी क्रिकेट क्लब र हिमाल फ्रेन्ड्सबिचको खेल रद्ध भएपछि अंक बाँडेका छन् । दुबै टिमको समान दुई खेलबाट समान ३÷३ अंक रहेपनि नेट रनरेटको आधारमा हिमाल फ्रेन्ड्स अघि रहँदै शीर्षस्थानमा छ ।
दोस्रो खेलमा लुम्बिनीले मधेश प्रदेश क्रिकेट क्लबलाई ५ विकेटले हरायो । १ सय २९ रनको विजयी लक्ष्य पाएको लुम्बिनीले १८ ओभरमा ५ विकेट गुमाउँदै १ सय ३१ रन बनायो । वर्षाले खेललाई प्रभावित पारेपछि खेल १९ रनमा झारिएको हो ।
लुम्बिनी जित पश्चात तालिकाको तेस्रो स्थानमा छ । २ खेलमा १ जित र १ हार ब्यहोरेको लुम्बिनीको २ अंक रहेको छ । २ खेलमै हार ब्यहोरेको मधेश तालिकाको अन्तिममा छ । वैशाख ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आइतबार समूह ‘सी’ को अन्तिम खेलहरु हुनेछन् । लुम्बिनी खुकुरीले कर्णाली एकेडेमीको सामना गर्नेछ भने मधेश प्रदेशले हिमाल फ्रेन्ड्सको सामना गर्नेछ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ रुपियाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । पहिलो संस्करणको उपाधि मधेश प्रदेशले जितेको थियो ।