न्यूयोर्क अमेरिका ।
कास्की समाज अमेरिका न्यूयोर्कले नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष एवं गण्डकी प्रदेशका प्रेस रजिस्टार विमला भण्डारीसँग न्यूयोर्कको सन्नी साईडमा भेटघाट तथा स्वागत कार्यक्रमको आयोजना गरेको छ।
भण्डारी ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संयुक्त राष्ट्रसंघ मुख्यालयमा आयोजित 69th session of the Commission on the Status of Women (CSW69) मा सहभागी हुन नेपालबाट न्यूयोर्क आउनु भएका प्रतिनिधिमध्ये एक हुनुहुन्छ। महिला अधिकार, लैंगिक समानता र समावेशी नीतिहरूको अन्तर्राष्ट्रिय फोरममा नेपालको प्रतिनिधित्व गर्न आउनु भएकी भण्डारीलाई कास्की समाज अमेरिकाले स्वागत कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमको सभापतित्व कास्की समाज अमेरिकाका अध्यक्ष वरिस्थ समाजसेवि डम्बर जंग गुरूङले गर्नुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेसकी संघीय सांसद सिता मिजार, नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उषा राउत, केन्द्रीय सदस्य संगीता तामाङ विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै अतिथी नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, जय नेपाल फाउन्डेसनका संस्थापक विश्व बराल, समाजसेवी महेन्द्र अधिकारी, शिवा वराल, अनिता परियार, राधा आचार्य लगायतका व्यक्तित्वहरूले पनि मन्तव्य राख्नुभएको थियो।
कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषदका नवनिर्वाचित अध्यक्ष शिव वानियाले कास्की समाज अमेरिकाले कास्की र नेपालबाट अमेरिका आउने सामाजिक र महत्त्वपूर्ण व्यक्तित्वहरूको सम्मानमा यस्ता कार्यक्रम आयोजना गर्दै आएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो।
कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषदका संरक्षक विश्वराज वास्तोलाले कार्यक्रममा सबैसँग भेटघाट गर्न पाउँदा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले प्रवासी नेपालीहरू बीच आपसी सम्बन्धलाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा वक्ताहरूले विमला भण्डारीको पत्रकारिता क्षेत्रमा र प्रेस प्रशासनमा पुर्याएको योगदानको कदर गर्दै उनको भावी सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। अध्यक्ष गुरूङले समाजको तर्फबाट यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको थियो। कास्की समाज अमेरिकाले नेपाली भाषा, संस्कृति र सामाजिक सद्भाव प्रवर्द्धन गर्दै आएको छ।