इतिहास रचिन् शाेभा गाैतमले

पाेउवा संघ चुनाव

इतिहास रचिन् शाेभा गाैतमले

shova gautam

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ७२ वर्ष लामो इतिहासमा पहिलोपटक  अध्यक्षमा चुनाव जितेर शाेभा गाैतमले इतिहास रचेकी छन् ।   संघको ३६ औं अधिवेशनबाट शोभा गौतम अध्यक्षमा निर्वाचित भएकी हुन् । उनले आफ्ना तीन पुरुष प्रतिस्पर्धीलाई पराजित गर्दै ऐतिहासिक जित निकालेकी हुन् । गौतमले निर्वाचनमा अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पछाडि पारिन् । २ हजार २ सय ७९ मत खसेकोमा निर्वाचित गौतमले ७ सय ५१ म्त प्राप्त गरिन् । पराजित अर्जुन पोखरेलले ६ सय ३७, उत्तममान बुद्धाचार्यले ६ सय १ र बलराम आचार्यले २ सय ५३ मत प्राप्त गरे । अध्यक्षमा १२ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

 वर्तमान महासचिवको जिम्मेवारी सम्हालिरहेकी गौतमले अब संघको बागडोर सम्हाल्नेछिन् । यो जितलाई उनले हजारौं संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाजका रुपमा लिएकी छन् । ‘मेरो परिचय केबल एउटा उम्मेदवारका रूपमा मात्र नभई हजारौं संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाज हो,’ उनले भनिन् ।नवनिर्वाचित अध्यक्ष गौतमको व्यावसायिक यात्रा २६ वर्षअघि एउटा सानो चिया पसलबाट सुरु भएको थियो । उनले उद्योग वाणिज्य संघकै कार्यालय अगाडि चिया पसल चलाएर व्यवसायको जग बसालेकी थिइन् । त्यही समयमा उनले व्यवसायीका समस्या र बजारको मनोविज्ञानलाई नजिकबाट बुझ्ने मौका पाइन् । पछि उनले महेन्द्रपुलमा ‘पुष्पाञ्जली ब्युटी पार्लर’ सुरु गरेर आफूलाई स्थापित गराइन् ।

त्यो बेला पार्लर व्यवसायलाई हेर्ने सामाजिक दृष्टिकोण सहज नभए पनि उनले त्यसलाई चुनौतीका रुपमा स्वीकार गरिन् । अहिले उनी सुप्रिम सप्लायर्समार्फत लुब्रिकेन्ट, फेसन, इभेन्ट, रेस्टुरेन्ट, कृषि र ग्रोसरी जस्ता विविध क्षेत्रमा सक्रिय छिन् । संघमा उनको प्रवेश विसं २०७३ सालमा साधारण सदस्यका रुपमा भएको थियो । तत्कालीन अध्यक्ष पवनकुमार प्रजापतिको प्रेरणाले उनी संस्थामा जोडिएकी थिइन् ।

गौतम कार्यसमिति सदस्य हुँदै उपमहासचिव र महासचिवको जिम्मेवारीमा रहेर आफ्नो कार्यक्षमता प्रमाणित गरिसकेकी छन् । संघबाहेक उनले मानव सेवा आश्रम, लायन्स क्लब र अन्य सामाजिक संस्थाहरूमा समेत आफ्नो दरिलो उपस्थिति जनाएकी छन् । पदलाई अधिकारभन्दा पनि सेवाको अवसरका रुपमा लिने उनको कार्यशैलीले नै उनलाई आज अध्यक्षको पदसम्म पुर्‍याएको हो ।

यस पटकको महाधिवेशनका लागि गौतमले ‘सुदृढ संघ, सक्षम नेतृत्व’ को नारासहित १४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेकी छन् । उनको मुख्य प्राथमिकता संघलाई सबै उद्योगी व्यवसायीको साझा घरका रुपमा स्थापित गर्नु हो । उनले कृषि र पर्यटन प्रवर्धन, युवा उद्यमशीलता विकास र महिला उद्यमीहरूको सशक्तीकरणलाई आफ्नो एजेन्डाको अग्रभागमा राखेकी छन् । वित्तीय साक्षरता, सीप विकास र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि उनले पहल गर्ने बताएकी छन् । न्यु रोडको पार्किङ समस्या समाधान जस्ता ठोस योजनाहरू पनि उनले अघि सारेकी छन् । ‘मेड इन पोखरा’ अभियानलाई विस्तार गर्दै स्थानीय उत्पादनलाई बजारसम्म जोड्ने र व्यवसायीमैत्री नीति निर्माणका लागि पैरवी गर्ने उनको संकल्प छ ।

संघको वरिष्ठ उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष दिनेशचन्द्र बास्तोला निर्वाचित भए । उनले प्रतिष्पर्धी टिकाराम सुवेदीलाई झण्डै दोब्बर मतान्तरले पराजित गरे । निर्वाचित बास्तोलाले १ हजार ४ सय ८१ मत प्राप्त गर्दा पराजित सुवेदीले ७ सय ६० मत प्राप्त गरे । उपाध्यक्ष (उद्योग)मा सौगात थापा बिजयी भए । प्रतिष्पर्धी ललितबहादुर कुँवरलाई २ सय ९८ मतान्तरले पछाडि पार्दै थापा बिजयी भएका हुन् । बिजयी थापाले १ हजार २ सय ७१ मत प्राप्त गर्दा कुवँरले ९ सय ७३ मत प्राप्त गरे ।उपाध्यक्ष (वाणिज्य)तर्फ मनोजकुमार श्रेष्ठ निर्वाचित भए । उनले प्रतिष्पर्धी भीम गौतमलाई १ सय ४६ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । बिजयी श्रेष्ठले १ हजार ६५ मत प्राप्त गर्दा पराजित गौतमले ९ सय १९ मत प्राप्त गरे ।

संघको महासचिवमा सुदीप प्रधानाङ्ग बिजयी भए । उनी प्रतिष्पर्धी तारानाथा ढुंगानालाई १ सय ६० मतान्तरले पराजित गर्दै महासचिवमा निर्वाचित भएका हुन् । बिजयी प्रधानाङ्ले १ हजार २ सय २ मत प्राप्त गर्दा ढुंगानाले १ हजार ४२ मत प्राप्त गरे । कोषध्यक्षमा देवेन्द्र प्रजुले जीवनप्रकाश श्रेष्ठ ६ सय ६४ मतान्तरले पराजित गर्दै बिजयी भए । बिजयी प्रजुले १ हजार ४ सय ३९ मत प्राप्त गर्दा पराजित श्रेष्ठले ७ सय ७५ मत प्राप्त गरे ।

उप–महासचिवमा प्रदीप राजभण्डारी निर्वाचित भए । अन्य दुई प्रतिष्पर्धीलाई झण्डै दोब्बर मतान्तरले पछि पार्दै राजभण्डारी बिजयी भएका हुन् । बिजयी राजभण्डारीले १ हजार १ सय ५३ मत प्राप्त गर्दा पराजित यादवप्रसाद पोखरेलले ६ सय ५८ मत र रामचन्द्र तिमिल्सिनाले ४ सय ३३ मत प्राप्त गरे ।

खुल्ला १० सदस्यतर्फ दुर्गा बराल १ हजार ७ सय ४८, अमृत पोखरेल १ हजार ७ सय ३१, निर्मला चापागाईं १ हजार ५ सय ८०, गोविन्दबहादुर केसी १ हजार ४ सय ८७, रामेश्वर अधिकारी १ हजार ४ सय ७७, मनोहरी पौडेल १ हजार ४ सय ७६, भानुभक्त अधिकारी १ हजार ४ सय ५२, दीलिपकुमार श्रेष्ठ १ हजार ४ सय ४७, रामप्रसाद कँडेल १ हजार ४ सय ३५ र कमलबहादुर सुनार १ हजार ४ सय २४ मत ल्याएर बिजयी भए । १३ जनाबीच भएको प्रतिष्पर्धामा नवीन नापित १ हजार ३ सय ४३, हरिप्रसाद अधिकारी १ हजार ३ सय ४३ र सूर्यराज घिमिरे १ हजार ३ सय ३ मत ल्याएर पराजित भए ।

यसअघि वस्तुगततर्फको चार सदस्यमा केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल तथा उद्योग सदस्यमा पिताम्बर अधिकारी निर्विरोध भइसकेका छन् ।

प्रतिक्रिया

भर्खरै