पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराजले पाण्डे मातृभूमिप्रतिको कर्तव्यवोध गर्न युवाहरुलाई अनुरोध गर्नुभएको छ । वातावरण संरक्षणमा सेचतना जगाउन शनिबार पोखरामा आयोजना गरिएको फोहोर संकलन दौडको शुभारम्भ गर्दै उहाँले युवाहरु विदेश पलायन भइरहने हो भने देश नबन्ने बताउनुभयो ।
“युवाहरु विदेश पलायन भइरहने हो भने देश बन्दैन”,उहाँले भन्नुभयो,“ देशमा केही भएको छैन भन्ने तपाईं युवाहरुलाई लागेको छ भने, म जुन प्रक्रियाबाट मुख्मन्त्री बने सोही अनुसार युवालाई मुख्यमन्त्री र प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्न आग्रह गर्दछु ।” प्रतिभावान सबै युवाहरु विदेश पलायन भएपछि देश कसले बनाइदिन्छ भन्दै उहाँले प्रश्न गर्नुभयो ।
“क्षमतावान, प्रतिभावान सबै विदेश भाग्ने अनि देश कसले बनाइदिन्छ ?”उहाँले भन्नुभयो,“ देशप्रति माया नदेखाउने र मातृभूमिप्रति कर्तत्ववोध नगरी विदेश पलायन हुनेलाई सामाजिक सञ्जालमा नेपाल खत्तम छ भनेर लेख्ने अधिकार छैन, देश विदेशी आएर बनाइदिन्न हामीले बनाउने हो, यसमा युवाहरु जागरुक हुनुपर्दछ ।”
मुख्यमन्त्री पाण्डेले हामी भित्र रहेको नकारात्मक सोचलाई परिवर्तन गर्न जरुरी रहेको बताउँदै देशमा अनेक सम्भावना भएकाले युवारुलाई मबाट माथि उठेर हामीको भावना अनुरुप काम गर्नु आग्रह गर्नुभयो । “कमजोरीलाई हटाउँदै सिक्दै अगाडि बढ्नु पर्दछ,”उहाँले भन्नुभयो,“प्रतिकुलतमा पनि अनुकुलता खेजेर देशको विकास र समृद्धिमा जुट्न युवाहरुलाई आग्रह गर्दछु ।” देश विकासमा युवा सहभागिता अपरिहार्य भएको उहाँको भनाइ छ ।
कार्यक्रममा मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनालले फोहोर नै नगर्न सचेता जगाउन दौड गरिएको बताउनुभयो । युवाहरुलाई सहभागी गराएर गरिएको यो कार्यक्रमले वातावरण संरक्षणमा जागरण ल्याउने उहाँको विश्वास छ । यो एउटा सिम्बोलिक कार्यक्रम भएकाले यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने खनालको दाबी छ । दौडमा विद्यालय, क्याम्पसका विद्यार्थी लगायत युवाहरुको सहभागिता रहेको थियो ।