पोखरा । पोखरा रङ्गशालामा जारी २४ औँ संस्करणको आरा रारा पोखरा गोल्ड कपको फाइनल खेल आज शनिबार हुँदैछ । गोल्ड कप उचाल्नको लागि नेपाल पुलिस क्लब र उज्बेकिस्तानको टिम ब्ल्याक बुल्स फुटबल क्लब आमने सामने हुँदैछन् । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
नेपाल पुलिसले यसअघि पोखराको मैदानमा ६ पटक उपाधि जितिसकेको छ । सहारा क्लब नै आयोजक भएर २०५८ मा भएको क्याराभान गोल्ड कप र आहा रारा गोल्ड कपसहित पुलिसले ६ पटक उपाधि जितेको हो । पुलिसले ९ पटक फाइनल खेलेको छ । पोखराको मैदानमा ७ औं पटक उपाधि जित्ने दाउमा नेपाल पुलिस क्लब छ । पहिलो पटक आहा रारामा सहभागी भएको ब्ल्याक बुल्स क्लब उपाधि जितेर इतिहास बनाउने योजनामा छ ।
क्याराभान गोल्ड कप २०५८, आहा रारा गोल्ड कप २०५९, २०६४, २०६५,२०६६ र २०७४ सालमा पुलिसले उपाधि जितेको हो ।२०७६ सालपछि पहिलो पटक फाइनल पुगेको पुलिसले उपाधि जित्ने राणनीतिसहित मैदान उत्रिने तयारीमा छ । शुक्रबार पोखरा रङ्गशालामा भएको प्रि म्याच कन्फ्रेन्समा पुलिसका प्रशिक्षक चेतन घिमिरेले टोली मेन्टल्ली र फिजिकल्ली फाइनल खेल जित्ने गरी तयार रहेको बताउनुभयो ।
विपक्षी टिमको खेललाई हेरेर रणनीति पनि बदल्ने मनस्थितिमा रहनुभएका घिमिरेले पुलिसले पोखरामा बनाएको छविलाई अझ अग्लो बनाउन जित्ने गरी टिमलाई उतार्ने योजना सुनाउनुभयो । पुलिसका क्याप्टेन राम बाजी टोलीमा स्टार खेलाडी नभएपनि योङ्गको बहुल्य रहेकाले उपाधि जित्नेमा आशावादी देखिनुभयो । ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजिजले पुलिससँगको खेल ५०/५० कै हुने बताउनुभयो । प्रतिस्पर्धामा जित नकिाल्ने गरी टोलीलाई मैदान उतार्ने भनाइ उहाँको छ । ब्ल्याक बुल्स टिम उज्बेकिस्तानको राष्ट्रिय टिमबाट खेलिसकेको ३ जना खेलाडी पनि सहभागी छन् ।
नेपाल पुलिस क्लबले उद्घाटन खेलमा आयोजक सहारा क्लाबलाई १–०, क्वार्टरफाइनलमा युकेको ब्रिगेड ब्वाइज युनाइटेड क्लबलाई २–० र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको हो । ब्ल्याक बुल्स एफसीले बाई पाएर सिधै क्वार्टरफाइनलबाट खेल्न सुरू गरेको हो । उसले क्वार्टर फाइनलमा सिक्किमको थन्डर बोल्ट नर्थ युनाइटेड ३–० गोल अन्तरले हराएर सेमिफाइनल खेलेको हो ।
प्रतियोगिताका विजेताले नगद १२ लाख १ हजार रुपियाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्र्ने छ भने उपविजेताले ६ लाख १ हजार रुपियाँसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने छन् भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार रुपियाँसहित ट्रफी प्रदान गरिनेछ । माघ २२ गतेबाट सुरु भएको प्रतियोगितामा १२ टिम सहभागी भएका थिए ।