पोखरा । ब्यान्डहरुको राजधानी पोखरामा ‘ब्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यही माघ २६ गते शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा ‘ब्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम गर्न लागेको आयोजकले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
कार्यक्रममा नब्बेको दशकमा उदाएर राष्ट्रिय÷अन्र्तराष्ट्रिय ख्याती कमाउन सफल ७ वटा ब्यान्डले प्रस्तुति दिने गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव तथा सो कार्यक्रमका संयोजक मनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार कार्यक्रममा कन्दरा (विवेक श्रेष्ठ), डि–मर्चा ब्यान्ड (भाष्करध्वज श्रेष्ठ), लेकाली ब्यान्ड (नवीन गुरुङ र भाई गुरुङ), देउराली ब्यान्ड (शान्त बज्राचार्य), ब्रोसिस ब्यान्ड (प्रकाश राना), मध्याह्य ब्यान्ड (कर्णदास र कुमार गुरुङ) तथा भेगाबोन्ड ब्यान्ड (श्यामसुङ तामाङ)को प्रस्तुति रहनेछ ।
ब्यान्डहरुको राजधानी पोखराको विरासत फर्काउनेगरी कार्यक्रम गर्न लागिएको आयोजक पोखरा सांगीतिक कलाकार संघ, नेपालका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए । कुनैबेला पोखरा ब्यान्डहरुको राजधानी थियो । ९० को दशकमा पोखराका ब्यान्डहरुले देश, विदेशमा आफ्नो कला र संगीतमार्फत ध्यान तानेको थियो,उनले भने,‘समय अन्तरालमा आ–आफ्नो व्यस्तता र बाध्यताले गाँज्दा यो पहिचान बिस्तारै सुस्ताउँदै गयो । तर फेरि एकपटक जुर्मुराउने बेला आएको अनुभूति भएपछि त्यहि विरासत फर्काउनका लागि यो कार्यक्रम गर्न लागेका हौं ।’ उनले संगीतमार्फत् विश्वको ध्यान फेरी एकपटक पोखरामा तान्न कार्यक्रम कोशेढुंगा सावित हुने उनको विश्वास छ ।
सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक ब्यान्डहरुको पुर्नजागरण गर्ने र नया पुस्तालाई संगीतमा लागेरपनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिदै यसतर्फ आकर्षित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको संघका सचिव भाष्करध्वज श्रेष्ठले बताए । कार्यक्रममा सहभागिले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्न सक्ने संघका निवर्तमान अध्यक्ष सुनिल थापाले बताए । उनले भने,‘जसले परिवारसँगको माया थप प्रगाढ बनाउन तथा आफ्नो सन्ततीलाई त्यो समयबारे भन्ने अवसर सिर्जना गर्नेछ ।’
कार्यक्रम सम्पन्न गर्न गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठको संयोजकत्वमा ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन भएर तयारी सुरु भइसकेको कार्यक्रमका प्रचारप्रसार संयोजक सन्देश श्रेष्ठले जानकारी दिए ।