आज शुक्रबार पनि रविको बयान लिइने

आज शुक्रबार पनि रविको बयान लिइने

rabi court 4

फाइल तस्बिर

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको इन्कारी बयान दिएका छन् । जिल्ला अदालतले लामिछानेसँग बिहीबार बयान लिएको हो । लामिछानेले सहकारी ठगीका घटनामा कुनै पनि किसिमको संलग्नता नभएको र आफू निर्दोष रहेको दाबी गरेका छन् । उनको बयान भने बिहीबार सकिएन । शुक्रबार लामिछानेको बयान निरन्तर हुने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा प्रहरीले करिब ३ महिना गरेको अनुसन्धानको आधारमा लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित कसूर संलग्न रहेको भन्दै अभियोग पत्र दर्ता भएको छ । यसअघि, सहकारी प्रकरणमा मुछिएकी लीला पछाईंको बयान लिइएको थिया

सोमबार र मंगलबार गोरखा मिडियाका सञ्चालक र पूर्व डिआइजी छविलाल जोशीको बयान लिएको थियो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको हो । बयानका लागि छवि, लीलासहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, जिबीका साझेदर नेचर हब्र्सका सञ्चालक रामबहादुर खनालसहित ४४ जनालाई अदालतमा विपक्षी बनाएर अभियोग पत्र दर्ता गरिएको छ ।

सूर्यदर्शन सहकारीमा पूरक र थप अभियोगमा संस्था र व्यक्ति गरेर ६३ जनालाई प्रतिवादी बनाइएको छ । शुक्रबार जिबीसहित १९ जनाविरुद्ध थप अभियोग लगाइएको थियो । आइतबार ८ कम्पनी, ३१ जना व्यक्ति, ८ संस्था र ५ जनाको सम्पत्ति जफत गर्न थप अभियोजन दर्ता भएको छ । उनीहरूसँग पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा १ अर्ब ५१ करोड बिगो माग गरिएको छ । प्रतिवादीहरुको बयान सकिएपछि थुनछेक बहस आरम्भ हुनेछ । जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरुमाथि सहकारी ऐन, २०७४ को दफा १२२ (त) अनुसार १० वर्षसम्म कैद सजाय माग गरेको छ । संगठित अपराधको आरोपमा थप ५० प्रतिशत सजाय हुने भएकाले उनलाई १५ वर्ष सजाय माग गरिएको छ ।

लामिछानेमाथि सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो माग भएको छ । लामिछानेसँग सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँको बिगो माग गरिएको छ । लामिछानेसँगै पूर्वडिआइजी छविलाल जोशीसँग सम्पत्ति शुद्धीकरणमा ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको बिगो माग गरिएको छ । सहकारी ठगीमा भने ५ करोड २६ लाख ६५ हजार माग गरिएको छ ।जोशी र लामिछानेसँगै कास्की प्रहरीको हिरासतमा रहेका रामबहादुर खनाल र लीला पछाईविरुद्ध पनि सम्पत्ति शुद्धीकरण कसूरमा माग दाबी गरिएको छ । प्रतिवादी खनालसँग १४ करोड ३० लाख ९१ हजार ९ सय ११ रुपैयाँ, पछाईसँग २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिएको छ ।

सहकारी ठगीमा दीपेश पुनसँग २ करोड १४ लाख ८ हजार ८ सय ४३ बिगो माग गरिएको छ । बागलुङको ढोरपाटनका मेयर देवकुमार नेपालीविरुद्ध १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ बिगो माग दाबी गरिएको छ । उनी सूर्यदर्शनका पूर्वउपाध्यक्ष हुन् । प्रहरीले मंगलबार पक्राउ गरेका सूर्यदर्शनका पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङको पनि क्रमश बयान हुनेछ । प्रहरीले अनुसन्धान गरी अभियोगपत्र दर्ता गरिसकेकाले उनीहरुलाई सिधै अदालतमा बयान गराउने तयारी छ । सात जनाकै बयान सकिएपछि थुनछेक बहस हुने छ ।

न्यायाधीश नीतिज राईको इजलाशले बयान र थुनछेकपछि प्रतिवादीहरुलाई धरौटीमा छाड्ने, सामान्य तारिखमा छाड्ने वा पुर्पक्षमा थुनामा पठाउनेमध्ये एक निर्णय लिनेछ । सरकारी ठगीका मुख्य योजनाकार गीतेन्द्रबाबु(जिबी) राई फरार हुँदा सूर्यदर्शनबाट सहकारी पीडितले बचत फिर्ता पाउने विषयमा प्रश्न उठ्दै आएको छ ।

प्रतिक्रिया