पोखरा ५ असोज । लामखुटेले टोक्दा लाग्ने डेंगी रोगबाट अहिले पोखरा र समग्र गण्डकी प्रदेश प्रभावित भएको छ । अस्पतालका बेडहरु संक्रमितले भरिएका छन् भने संक्रिमित हुनेको संख्या बढ्दै जाँदा जाँच गर्ने किटको समेत अभाव हुन थालेको छ । पछिल्लो तथ्यांक अनुसार गण्डकीका १० जिल्लामा ८ हजार ६ सय २० जनामा डेंगी देखिएको छ ।
यो संख्या भदौ पहिलो हप्तासम्म २ हजार ६ सय ९१ थियो । गण्डकीका ११ जिल्लामध्ये संक्रमितको संख्या कास्कीमा सबैभन्दा बढी छ । कास्कीमा ४ हजार २ सय ४५ जनामा डेंगी संक्रमण देखिएको छ । कास्कीका ५ पालिकामध्ये पोखरा महानगरपालिकामा ४ हजार १ सय ४२ जनामा डेंगी पोजेटिभ देखिएको छ ।
पर्वतमा ७ सय ८२ जनामा डेंगी पोजेटिभ देखिएको छ । गोरखामा ३ सय ९९, स्याङ्जामा ३ सय १०, बागलुङमा २ सय ४३, म्याग्दीमा १ सय ९, नवलपुर १ सय ४, लमजुङमा ९४ र मुस्ताङमा ३ जना डेंगी संक्रमित छन् । डेंगी संक्रमित बढ्दै जाँदा पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र निजी अस्पतालसमेत बिरामीले भरिएका छन् ।
उच्च ज्वरो, आँखा दुख्ने, टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी र बान्ता हुने लगायतका लक्षण बढ्दै जाँदा अस्पताल पुग्नेहरुको संख्या पनि बढिरहेको छ । अस्पतालका बेडहरु भरिँदै जाँदा गण्डकीमा डेंगी जाँचका लागि आवश्यक पर्ने किट पनि अभाव हुन थालेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले अहिले स्वास्थ्य कार्यालयसँग किट २ सय वटामात्र रहेको सुनाए । उनका अनुसार पालिकाहरुको माग बमोजिम किट पु¥याउन सकिएको छैन । पाँच सय माग्नेलाई एक सय कीट दिँदै कार्यालयले म्यानेज गरेको उनले सुनाए । आजको समाधान दैनिकमा समाचार छ ।