उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको भ्रष्टाचारबिरुद्धको अभियानमा निर्दोष नफस्ने र दोषी उम्कन नसक्ने दाबी गरेका छन्।

गृह जिल्ला गोरखाको अजिरकोट गाउँपालिका–३, भच्चेकस्थित भच्चेक आधारभूत अस्पतालको आज (शक्रबार) उद्घाटन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

उनले बर्तमान सरकार रहुन्जेलसम्म भ्रष्टाचारबिरुद्धको अभियान नरोकिने समेत जिकिर गरे।

गृहमन्त्रीसमेत रहेका श्रेष्ठ भने, ‘कोही निर्देष फस्ने काम हुदैन। तर, कोही दोषी र अपराधीलाई छोड्ने काम पनि हुदैन। जुन बेलासम्म सरकार रहन्छ, त्यतिवेलासम्म सुशासनको अभियानलाई सरकारले अझ प्रभावकारी रुपमा निरन्तर अगाडी बढाउनेछ।’
उनले अपराध गर्नेहरुलाई अनुसन्धान गरेर तथ्य प्रमाणका आधारमा कानूनको दायरामा ल्याएर दण्डित गरेरै छाड्ने प्रतिवद्धतासमेत व्यक्त गरे।