पोखरा । पोखराको पर्यटकीय केन्द्र फेवाताल किनारमा रहेका वसुन्धरा र कोमागाने पार्कमा सरसफाइ सुरु गरिएको छ ।

पार्कहरु अव्यवस्थित भएको र पार्कको रुपमा प्रयोग नभएको गुनासो आएपछि पोखरा उपत्यका नगर विकास समितिको आयोजनामा सरसफाइ सुरु गरिएको हो । पार्कहरुलार्ई संरक्षण र व्यवस्थापनमा ध्यान नदिँदा त्यहाँ कानुुन विपरीतका गतिविधिसमेत हुने गरेका छन् भने नियमित सरसफाइ नहुँदा पार्क घासे मैदानमा परिणत भएका छन् । पार्कमा भएका शौँचालय पनि दुर्गन्धित छन् ।
पोखरा महानगरपालिकाका प्रमुख तथा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष धनराज आचार्यले सरसफाइको शुभारम्भ गर्दै पार्कहरुलाई संरक्षण र व्यवस्थित गर्न सरसफाइ सुरु गरिएको बताउनुभयो । “अबदेखि नियमित रुपमा सरसफाइ हुनेछ”, उहाँले भन्नुभयो, “पार्कहरुको गुरु योजना बनिसकेको छ, त्यसलाई पनि कार्यान्वयन गर्नेतर्फ पनि महानगर लाग्नेछ ।” पार्कलाई प्रयोग गर्दा पोखरा उपत्यका नगर विकास समितिसँग अनुमति लिनुपर्ने उहाँले बताउनुभयो । पार्कको संरक्षणको लागि पोखरा महानगरपालिकाले बजेटसमेत विनियोजन गरेको उहाँको भनाइ छ ।
पोखरा महानगरपालिका र जिल्ला सुरक्षा समिति कास्कीले व्यवस्थापनमा भएको सरसफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाज, पर्यटन व्यवसायी लगायतको सहभागी थिए । वसुन्धरा पार्क करिब ९० रोपनी र कोमागाने पार्क करिब १ सय १० रोपनी क्षेत्रफलमा रहेका छन् भने दुबै पार्क पोखरा उपत्यका नगर विकास समितिको नाममा छन् । पोखराको फेवाताल र लेकसाइडमा आएका विदेशी तथा स्वदेशी पर्यटकहरु पार्कमा पनि पुग्ने गरेका छन् ।