पोखरा । प्रकृतिको अनुपम उपहार र सुन्दर नगरीका रूपमा ख्याति कमाएको पोखरामा आजभन्दा पाँच दशकअघि एउटा ऐतिहासिक बीजारोपण भएको थियो । सन् १९७६ अर्थात् विसं २०३३ मा स्थापित ‘लायन्स क्लब अफ पोखरा’ नेपालकै छैटौं तथा पोखराको पहिलो लायन्स क्लब हो ।

समाजसेवामा समर्पित यस संस्थाले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरी गौरवशाली स्वर्ण महोत्सव मनाउने ऐतिहासिक मोडमा आइपुगेको छ । सन् १९७६ तिर मुम्बईबाट भ्रमणका क्रममा पोखरा आइपुगेका नवरोज पटेल र उनको टोलीसँगको भेटपछि पोखरामा अन्तर्राष्ट्रिय सेवा संस्थाको शाखा विस्तार गर्ने गृहकार्य सुरु भएको थियो । यस अभियानको सुरुआतमा पृथ्वीनारायण क्याम्पसका तत्कालीन प्रमुख तथा शिक्षासेवी जर्ज जोनलाई प्रस्तावित संस्थापक अध्यक्षका रूपमा अगाडि सारिएको थियो । पछि उनको व्यस्त कार्यव्यस्तताका कारण पोखराका प्रतिष्ठित व्यापारी फणिन्द्रमान श्रेष्ठको अध्यक्षतामा क्लबलाई विधिवत् रूपमा अगाडि बढाइयो । त्यसबेला काठमाडौं र विराटनगरपछि पोखरामा लायनवाद भित्रिनु समग्र गण्डकी क्षेत्रकै लागि एक स्वर्णिम कोशेढुंगा साबित भएको संस्थापक सदस्य मेहरमान श्रेष्ठले स्मरण गरे ।
थियो । स्थापनाकालीन त्यो समय सम्झँदा आज पनि धेरैका मनमा अनौठो सिर्जनशीलता र कठिन दिनका कथाहरू ताजा हुने क्लबका संस्थापक कोषाध्यक्ष एवं मूल समारोह समितिका मुख्य संयोजक सुशीलकुमार गोशलीले बताए ।
स्थापनाकालदेखि नै समाजमा शिक्षा, स्वास्थ्य, मानवीय सहायता तथा सामाजिक सचेतनाका क्षेत्रमा विभिन्न सेवामूलक गतिविधिमार्फत यस क्लबले महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । विगत ५० वर्षको यस लामो यात्रामा क्लबले कास्की, तनहुँ र पर्वत लगायतका दुर्गम ग्रामीण क्षेत्रहरूमा विद्यालय भवन निर्माण, खानेपानी आयोजना, निःशुल्क आँखा शिविर तथा दूरगामी स्वास्थ्य सेवालगायतका अर्बौं रुपैयाँ बराबरका विकास तथा मानवीय सेवा आयोजनाहरू सम्पन्न गरिसकेको छ । पोखरा लायन्सकै सक्रियता र प्रेरणाका कारण पछि गएर नारायणगढ, गण्डकी, अन्नपूर्ण, लेकसिटी, फिस्टेल जस्ता दर्जनौँ नयाँ क्लबहरू जन्मिई पोखरालाई ‘लायन्स नगरी’ का रूपमा स्थापित गराउन ठूलो सहयोग पुगेको छ । स्थापनाकालदेखि हालसम्म यस क्लबमा ४४ जनाले नेतृत्व सम्हालिसकेका छन् भने हाल क्लबमा ४२ जना सक्रिय सदस्यहरू कायम छन् ।
यसै स्वर्णिम र ऐतिहासिक यात्रालाई स्मरण तथा उत्सवका रूपमा मनाउन आगामी मंसिर ५ गते पोखरा इभेन्ट सेन्टरमा भव्य ‘स्वर्ण महोत्सव समारोह’ आयोजना गर्न लागिएको छ । यो स्वर्ण जयन्ती समारोह केवल एउटा साधारण स्थापना दिवसको उत्सव मात्र नभई, ५० वर्षको अवधिमा गण्डकी क्षेत्रमा लायन्स अभियानमार्फत भएका सामाजिक रूपान्तरण र ऐतिहासिक योगदानको समीक्षा गर्ने विशेष थलो रहेको क्लब अध्यक्ष डा. माधव तिवारीको भनाइ छ ।
समारोहका अवसरमा क्लबका संस्थापकहरू, पूर्वअध्यक्षहरू तथा लायनवादका माध्यमबाट समाजमा विशिष्ट योगदान पु¥याउने वरिष्ठ अग्रजहरूलाई विशेष सम्मान गर्ने कार्यक्रम तय गरिएको छ । साथै, विगत ५० वर्षयता गरिएका सामाजिक गतिविधिको ऐतिहासिक अभिलेख समेटेर तयार पारिएको विशेष ‘स्वर्ण महोत्सव स्मारिका’ को पनि विमोचन गरिनेछ । पोखरा तथा आसपासका क्षेत्रबाट संस्थापकहरू, पूर्वअध्यक्षहरू, लायन्स नेतृत्व, विभिन्न पेसा–व्यवसायका अगुवाहरूसहित करिब १ हजार २ सय जनाको भव्य उपस्थितिमा यो कार्यक्रम सम्पन्न हुनेछ ।
हालै आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष डा. माधव तिवारीले ५० वर्षसम्म संस्थालाई जीवित राख्नु र समाजसेवामा समर्पित हुनु आफैँमा एउटा ठूलो यज्ञ सरह भएको बताएका छन् । त्यस्तै, कार्यक्रमका प्रमुख संयोजक तथा पूर्वअध्यक्ष सुशीलकुमार गोशलीले स्थापनाकालदेखिका संघर्ष र उपलब्धिबारे प्रकाश पार्दै आगामी दिनमा पनि यस्ता मानवीय कार्यहरूले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् । मल्टिपल काउन्सिलका निवर्तमान चेयरपर्सन मिलन थापा, डिस्ट्रिक्ट गभर्नर प्रजापति बास्तोलाले पोखरा लायन्सले समाजमा पु¥यााएको योगदानको उच्च प्रशंसा गरेका छन् ।
स्थापनाकालदेखि हालसम्म यस क्लबका हरेक कदम र सामाजिक कार्यहरूलाई आम जनमानसमा पु¥याउन सञ्चार माध्यम र पत्रकारहरूले खेलेको भूमिकाप्रतिको कृतज्ञतास्वरूप आगामी मंसिर ५ गते हुने स्वर्ण महोत्सवको प्रचारप्रसारमा अझ बढी सक्रिय सहकार्यका लागि क्लबका पूर्व अध्यक्ष दीपेन्द्र कोइरालाको भनाइ थियो ।