भगवती माविलाई लायन्स क्लबद्वारा शैक्षिक सामग्री हस्तान्तरण

भगवती माविलाई लायन्स क्लबद्वारा शैक्षिक सामग्री हस्तान्तरण

WhatsApp Image 2026-11-03 at 5.45.19 PM

स्याङ्जा । लायन्स क्लब अफ पोखरा चौतारीले स्याङ्जाको आधीखोला गाउँपालिका–६ स्याङ्जा, लामिस्वाँसा स्थित भगवती माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । क्लबका सदस्यहरूको आर्थिक सहयोगमा विद्यालयलाई स्मार्ट बोर्ड, कापी, कलम, ज्यामितीय बक्स तथा विज्ञान विषयका आवश्यक पाठ्यपुस्तक प्रदान गरिएको हो ।

क्लबका डिस्ट्रिक्ट ३२५ जे का गभर्नर प्रजापति बास्तोला, क्लबका अध्यक्ष गोविन्द ढकाल तथा पूर्वअध्यक्षहरूले संयुक्त रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रराज ढकाल र प्रधानाध्यापक बुद्धिबहादुर क्षेत्रीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो । सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गभर्नर बास्तोलाले लायन्स क्लब एक सामाजिक संस्था भएको उल्लेख गर्दै मानव सेवाका क्षेत्रमा क्रियाशील रहदै आएको बताउनुभयो । लायन्सवादमा आबद्ध व्यक्तिहरू समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन सधैँ अग्रसर रहने उहाँको भनाइ थियो । विद्यालयका संस्थापक टिकराम ढकालले विसं २०२२ मा स्थापना भएको यस विद्यालयले राष्ट्रका लागि विभिन्न राष्ट्रिय व्यक्तित्व उत्पादन गरेको स्मरण गर्दै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

क्लबका अध्यक्ष गोविन्द ढकालले सोही विद्यालयमा अध्ययन गरेको स्मरण गर्दै विद्यालयको शैक्षिक विकासमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । कार्यक्रममा आधीखोला गाउँपालिका–६ का वडाध्यक्ष नवीन ढकालले विद्यालयको स्तरउन्नतीको लागि पालिकास्तरीय कार्यक्रम ल्याएतापनि आर्थिक पक्ष कमजोर भएका बालबालिकाका लागि दाताहरुको सहयोग आवश्यक रहेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रराज ढकालले यस विद्यालयमा विद्यार्थी संख्या बढाउनको लागि विद्यालयले सवारीसाधन संचालनमा ल्याउने योजना रहेकोले सो योजनालाई सहयोग गर्न सामाजिक संस्था समक्ष आग्रह गर्नुभयो । त्यसैगरी विद्यालयका प्रधानाध्यापक बुद्धिबहादुर क्षेत्रीले गाउँपालिकामा नै जनसंख्या दर घट्दै जानु र बसाइसराई अर्को चुनौतीको रुपमा रहेको बताउनुभयो ।

कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरू तेजबहादुर भट्टराई, विनोद पौडेल, सञ्जीव कोइराला, पुरुषोत्तम पराजुली, जगदीश अधिकारी र विश्वकुमार विजुक्छे तथा लायन धुर्ब राउत, रक्षा लामा, अमरराज भण्डारी, सञ्जयकुमार सापकोटा र नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलले लायन्स क्लबले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको योगदानको चर्चा गर्दै ग्रामीण क्षेत्रबाट बसाइसराईको प्रमुख कारण शिक्षा नै भएको बताउनुभयो ।

विद्यालयलाई प्रदान गरिएको शैक्षिक सामग्रीले विद्यार्थीको सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउनुका साथै विज्ञान तथा प्रविधिमैत्री शिक्षणमा सहयोग पुग्ने अपेक्षा क्लबले गरेको छ ।

((

प्रतिक्रिया