सकियो पोखराको ३ दिने खेल पत्रकारिता तालिम

सकियो पोखराको ३ दिने खेल पत्रकारिता तालिम

NSJF, Gandaki Training

पोखरामा आयोजित ३ दिने खेल पत्रकारिता तालिम आज (शुक्रबार) सकिएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको तालिम कार्यक्रमको समापनमा बोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले सूचना तथ्यमा आधारित र नियमसंगत हुनुपर्ने बताए।

‘सूचना तथ्यमा आधारित र नियमसंगत हुनुपर्छ’ उनले भने।

तालिमको आयोजनाको कारण पत्रकारको क्षमता अभिवृद्धि हुने बताउँदै उनले तालिममा सिकेका ज्ञानलाई समाचार सामाग्रीको माध्यमबाट उतार्न आग्रहसमेत गरे। समाचार सामाग्री तयार पार्नुअगाडि पत्रकारले सम्बन्धित खेलको नियम र मापदण्डबारे जानकारी राख्नैपर्ने उनको जोड थियो। मञ्चले आयोजना गर्ने हरेक कार्यक्रममा प्रदेश खेलकुद परिषदको साथ रहने उनको प्रतिवद्धता छ।

नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी ‘देवेन्द्र’ले निरन्तरको अभ्यासबाटै पत्रकारको क्षमता अभिवृद्धि हुने बताए। उत्कृष्ट समाचार सामाग्री तयार पार्न मेहनत जरुरी रहेको उनको भनाई छ।

‘निखारता थपिन प्राक्टिस चाहिन्छ, जसको लागि पढ्नुपर्छ, हेर्नुपर्छ अनि लेख्नुपर्छ’ उनले भने।

समाचार सामाग्री उत्कृट बन्न आएका फिडब्याकलाई ध्यान दिनुपर्ने अध्यक्ष सुवेदीले बताए। नेपाल खेलकुद पत्रकार मञ्च प्रदेश संरचनमा जान लागेकोले मञ्च गण्डकीसँगको संस्थागत दूरी केही समयभित्रै अन्त्य हुने उनले खुलाए।

उनले भने, ‘व्यक्तिगत रुपमा त हामी नजिक छौं, संस्थागत रुपमा केही प्राविधिक समस्या छन्, ती समस्या आगामी दशैं अगाडिनै समाधान हुनेछन्।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, फोटो पत्रकार सघ कास्कीका अध्यक्ष दुर्गाप्रसाद पौडेल, मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, निवर्तमान अध्यक्ष एकराज गिरी, मञ्च गण्डकीका उपाध्यक्ष तथा तालिम संयोजक सुरज श्रेष्ठ, सचिव शशिकुमार पौडेल, पुर्व सल्लाहकार सुदर्शन रञ्जित लगायतले प्रमाणपत्र र प्रंशसापत्र वितरण गरे।
गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर जेठ १७ गतेबाट आयोजना गरिएको तालिममा गण्डकी प्रदेशमा क्रियाशिल ८० जना पत्रकार सहभागी बनेको कार्यक्रम संयोजक सुरज श्रेष्ठले जनाए।

प्रदेश खेलकुद परिषद गण्डकीको विशेष सहयोगमा आयोजना गरिएको तालिमको प्रमुख प्रशिक्षक आइसीसीका एम्पायर दुर्गानाथ सुवेदी ‘देवेन्द्र’ले क्रिकेट खेलको रिपोर्टिङबारे सहजिकरण गरे।

उनले क्रिकेटका अलावा समग्र खेल पत्रकारिता गर्दा अपनाउनुपर्ने सावधानीबारे अवगत गराए।

टेनिसका भेट्रान खेलाडी तथा टेनिस प्रतियोगिताका निर्देशक राजन पौडेलले टेनिस खेलसँग सम्बन्धित विषयमा सहजीकरण गरे।
भलिवल खेलबारे पूर्व राष्ट्रिय भलिवल खेलाडी लेखनाथ लम्सालले सहजीकरण गरे।

कास्की जिल्ला भलिवल संघका उपाध्यक्षसमेत रहेका लम्सालले भलिवल खेलबारेमा जानकारी दिँदै रिपोर्टिङका क्रममा अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण गराए।

एनए कोर्ष गरेका फुटबल रेफ्री सन्तोष गुरुङ र शुशिल केसीले फुटबल खेलबारे प्रशिक्षण गराए। गुरुङ नेपाल फुटबल रेफ्री संघका सदस्य तथा केसी कास्की जिल्ला रेफ्री संघका अध्यक्ष हुन्।

यसैगरी, फोटो पत्रकार संघ कास्कीको संयोजनमा अध्यक्ष दुर्गाप्रसाद पौडेलसहित सुदर्शन रञ्जित, उमेश पुन र योगेन श्रेष्ठले खेलकुद पत्रकारितामा कस्ता फोटो तथा भिडियो सामाग्री प्रयोग गर्ने विषयमा प्रशिक्षण गराए। उनीहरुले केही प्राविधिक पक्षको बारेमा समेत सहभागीलाई जानकारी गराए।

पोखरा ट्रेड मल चिप्लेढुंगामा रहेको क्लासिक चुल्होमा आयोजना गरिएको तालिममा पोखरा महानगरपालिकाको सहयोग रहेको थियो।

तालिममा सहभागीले पोखरा रंगशालामा पुगेर क्रिकेट र टेनिस खेलको प्रयोगात्मक अभ्याससमेत गरेको महासचिव राजाराम पौडेलले जनाए।

त्यसो त नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका संपूर्ण खेलकुद पत्रकारको साझा संस्था हो। यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो। हाल ७४ जना पत्रकारहरु मञ्चमा आवद्ध छन्।

प्रतिक्रिया