काठमाडौँ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुँगा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थालेको छ। केही समय पूर्ण रूपमा थुनिएको खोला करिब ४० मिटर क्षेत्रसम्म पानी जमेर अहिले बग्न थालेको हो।

दूधकोशी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष भोजराज कार्कीले टेलिफोनमा कुरा गर्दै भने, ‘खोला ठूलै छ । एकछिन त पूरै थुनिएको थियो । करिब ३५/४० मिटर बढी ड्याम बनेको थियो । अहिले भरिएर माथिबाट बग्न थालेको छ । यद्दपि जोखिम भने कायमै छ ।’
उनका अनुसार हुँगा खोला महाकुलुङ र सोताङ हुँदै दुधकोशी नदीमा मिसिन्छ। खोला थुनिएर पानी बग्न थाले पनि जोखिम कायमै रहेकाले हुँगा तथा दुधकोशी नदीको तटीय क्षेत्रमा नजान र उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
कार्कीले भने, ‘प्रहरी प्रशासनले पनि सूचना जारी गरिसकेको छ । हामीले पनि हाम्रो क्षेत्रमा भएका नदी तटीय सबै क्षेत्रमा खोला किनारमा नजान र टाढा रहन अनुरोध गरिरहेका छौं । खोला बग्न थाले पनि थुनिएको ड्याम भत्कियो भने बाढी आउने जोखिम भने कायमै छ ।’