जलवायु क्षतिपूर्तिका लागि नेपालले खोज्यो न्युजिल्यान्डको साथ

जलवायु क्षतिपूर्तिका लागि नेपालले खोज्यो न्युजिल्यान्डको साथ

pm

काठमाडौँ । जलवायु क्षतिपूर्तिका लागि नेपालले न्युजिल्यान्डलाई समेत रचनात्मक सहयोगका लागि अनुरोध गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज भएको टेलिफोन वार्तामा भोटेकोशी बाढी र जलवायु न्यायका विषयमा छलफल भएको हो ।

प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्य तीव्र पारिएको जानकारी गराउँदै बेपत्ता सबै नागरिकहरूको खोजी कार्यलाई पनि प्राथमिकतामा राखिएको बताएका थिए । न्युजिल्यान्डले उपलब्ध गराएको २० लाख न्युजिल्यान्ड डलर बराबरको मानवीय सहायताप्रति उनले कृतज्ञता व्यक्त गरे ।  यस्तै, उनले जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्युजिल्यान्ड सरकारको रचनात्मक सहयोगको लागि अनुरोध गरे ।

न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनले नेपालमा गएको विनाशकारी बाढीप्रति आफ्नो सरकार तथा जनताको तर्फबाट हार्दिक समवेदना र ऐक्यबद्धता व्यक्त गरेका थिए । १० भदौमा आएको भोटेकोशी बाढीपछि नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रक्रिया अघि बढाइसकेको छ । तत्काल वित्तीय सहायता दिन ‘लस एन्ड ड्यामेज’ कोष सकारात्मकसमेत देखिएको छ ।

बाढीपछि अर्थमन्त्री स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले अगस्ट ३१ मा पठाएको पत्रको जवाफ दिँदै ‘फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज’ (एफआरएलडी) बोर्ड सहअध्यक्ष क्यामिला मिनर्भा रोड्रिग्वेज ताभारेज र जर्ज बोरस्टिङले सम्भावित सहयोगका उपाय खोज्न तयार रहेको बताएका हुन् । वाग्ले र चौधरीलाई सम्बोधन गरी सहअध्यक्षहरूले पठाएको पत्रमा भनिएको छ, ‘यस पत्रमार्फत हामी तपाईंहरू र नेपाली जनताप्रति आफ्नो अटल ऐक्यबद्धता व्यक्त गर्दछौं। हाम्रो प्रतिक्रिया सकेसम्म शीघ्र र अर्थपूर्ण बनाउन एफआरएलडीका विद्यमान कार्यादेश, संरचना, नीति तथा प्रक्रियाभित्र रहेर विभिन्न विकल्पमाथि विचार गर्न बोर्डलाई सिफारिस गर्दछौं ।’

विनाशकारी बाढीपछि दुई मन्त्रीले विपद्‌को सामना गर्न वित्तीय सहयोग माग्दै एफआरएलडी बोर्डलाई तत्काल सहयोगको अनुरोध गरेका थिए। उक्त अनुरोधलाई एसिया, अफ्रिका, ल्याटिन अमेरिका, अति कम विकसित मुलुक तथा साना टापु विकासशील राष्ट्रहरूको प्रतिनिधित्व गर्ने देश तथा समूहहरूले बलियो समर्थन र ऐक्यबद्धता जनाएका छन्। सरकारले बाढीबाट भएको क्षति र नोक्सानीसम्बन्धी आवश्यक सबै सहयोगी कागजात एफआरएलडी बोर्डलाई उपलब्ध गराउने पनि जनाएको छ । साभार इकान्तिपुर डटकम ।

प्रतिक्रिया