पोखरा। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. १ बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि गोकर्ण कार्कीद्वारा उम्मेद्वारी घोषणा गरेका छन्।

पोखरा महानगरपालिका-१४ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित कार्कीले हिन्दू धर्मको संरक्षण, संवैधानिक राजतन्त्रको पुनःस्थापना र संघीयता खारेजीलाई आफ्ना प्रमुख राजनीतिक एजेन्डाका रूपमा अघि सारेका छन्।
कार्कीले संघीय संरचना खारेज गरी विकास र पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्। शासन व्यवस्थासँगै राष्ट्रिय पहिचान र धार्मिक–सांस्कृतिक विषयलाई पनि राजनीतिक बहसको हिस्सा बनाउनुपर्ने उनको दृष्टिकोण छ। हिन्दू धर्मको संरक्षण र संवैधानिक राजतन्त्रको पक्षमा उनको स्पष्ट धारणा छ।
कार्कीले पार्टीभित्रको गुटगत राजनीतिभन्दा कांग्रेसको चारतारे झण्डा र रुखलाई केन्द्रमा राख्नुपर्ने बताएका छन्। ‘गुट होइन, चारतारे झण्डा र रुख’ भन्ने उनको एजेन्डाले पार्टीभित्र व्यक्तिकेन्द्रित तथा समूहगत राजनीतिभन्दा नीति, विचार र संगठनलाई प्राथमिकता दिनुपर्ने विषयलाई जोड दिएको छ।
सुशासन, भ्रष्टाचाररहित समाज र आर्थिक पारदर्शितालाई पनि उनले आफ्नो उम्मेद्वारीका प्रमुख आधार बनाएका छन्। पार्टीको आर्थिक गतिविधि पारदर्शी हुनुपर्ने तथा सार्वजनिक जीवनमा सुशासन र जवाफदेहिता कायम गर्नुपर्ने उनको धारणा छ।
पार्टी संगठन सुधारका लागि कार्कीले एक व्यक्ति, एक पद र बढीमा दुई कार्यकालको व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। पार्टीको पदमा रहने व्यक्तिले तीनै तहका सरकारमा उम्मेदवार बन्न नपाउने व्यवस्था हुनुपर्ने उनको धारणा छ। यसले पार्टी संगठन र राज्यसत्ताबीचको भूमिकालाई अलग र स्पष्ट बनाउन सहयोग पुग्ने उनको तर्क छ।
आर्थिक विकासतर्फ कार्कीले कृषि, उद्योग, व्यापार र पर्यटनलाई प्राथमिकतामा राखेका छन्। उद्यमशीलताको विकास, रोजगारी वृद्धि र निर्यात प्रवर्द्धनमार्फत मुलुकलाई आर्थिक रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ। राजनीतिक परिवर्तनसँगै आर्थिक विकास र पूर्वाधार निर्माणलाई पनि कांग्रेसको मुख्य एजेन्डा बनाउनुपर्ने उनले बताएका छन्।
कार्कीको उम्मेद्वारीसँग उनको संस्थागत नेतृत्वको अनुभव पनि जोडिएको छ। उनी पोखरा उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष हुन्। विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहेर प्राप्त गरेको अनुभवलाई अब पार्टी संगठन र नीति निर्माणमा उपयोग गर्ने उनको भनाइ छ।
आफ्ना धारणा स्पष्ट र तर्कपूर्ण रूपमा राख्ने कार्कीले पार्टीभित्रको बहस व्यक्तिको पक्ष–विपक्षमा सीमित नभई नीति र एजेन्डामा केन्द्रित हुनुपर्ने बताएका छन्। राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई पार्टीको मूल आधार मान्दै त्यससँगै आफ्नो राजनीतिक दृष्टिकोण र सुधारका प्रस्तावलाई महाधिवेशनको बहसमा लैजाने उनको तयारी छ।
कार्कीले कास्की क्षेत्र नं. १ का क्षेत्रीय प्रतिनिधिहरूसँग मत, साथ र सहयोगको आग्रह गरेका छन्। उनको उम्मेद्वारीमा राज्य व्यवस्था, धार्मिक–सांस्कृतिक पहिचान, संघीय संरचना, पार्टी संगठन सुधार, सुशासन र आर्थिक विकासका विषय एकसाथ उठाइएका छन्।
