गण्डकीमा यातायात कार्यालयहरू अब उद्योग र पर्यटन मन्त्रालय मातहत

गण्डकीमा यातायात कार्यालयहरू अब उद्योग र पर्यटन मन्त्रालय मातहत

Gandaki-Ministry

पोखरा । गण्डकी प्रदेश सरकारले मन्त्रालयहरूको संरचना र कार्यविभाजनमा हेरफेर गरेको छ। मन्त्रिपरिषद्‌को गत २०८३ भदौ ३० गतेको बैठकले कार्यसम्पादन नियमावलीमा संशोधन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार असोज ८ गते प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ कार्यविभाजन सार्वजनिक गरिएको हो।

प्रदेश सरकारले यसअघि रहेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट यातायातको पाटो अलग बनाएको छ। अब यातायात सम्बन्धी विषय उद्योग र पर्यटनसँग जोडिएको छ। नयाँ व्यवस्था अनुसार मन्त्रालयको नाम उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय राखिएको छ। यस निर्णयसँगै जिल्लास्थित यातायात व्यवस्था कार्यालयहरू अब नयाँ मन्त्रालय मातहत रहने भएका छन्।

पुनरावलोकन गरिएको संरचना अनुसार नयाँ बनेको उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयलाई कुल ४१ वटा कार्यजिम्मेवारी सुम्पिएको छ। अब सवारी साधन दर्ता, नवीकरण र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी तथा नवीकरणको काम यसै मन्त्रालयले हेर्नेछ। यसैगरी सार्वजनिक यातायातको रुट अनुमति, गुणस्तर मापदण्ड निर्धारण र भाडा दर कायम गर्ने अधिकार पनि यसै मन्त्रालयलाई दिइएको छ। वातावरणमैत्री, अपाङ्गतामैत्री एवं लैंगिकमैत्री यातायात प्रणालीको प्रवर्द्धन र सडक सुरक्षाका काम पनि नयाँ मन्त्रालय मातहत ल्याइएको छ।

पर्यटनतर्फ भने पर्यटकीय होटल, रिसोर्ट, लज, ट्राभल तथा ट्रेकिङ एजेन्सी र होमस्टेको दर्ता, अनुमति, नवीकरण तथा नियमनको जिम्मेवारी तोकिएको छ। यसबाहेक साना, मझौला, घरेलु तथा लघु उद्योगको प्रवर्द्धन, बजार अनुगमन, उपभोक्ता हित संरक्षण, नापतौल र कालोबजारी नियन्त्रणजस्ता काम पनि यसै मन्त्रालयको परिधिभित्र राखिएको छ।

यातायातको पाटो अलग्गिएपछि साविकको भौतिक पूर्वाधार मन्त्रालयको नाम अब भौतिक पूर्वाधार विकास मन्त्रालय कायम भएको छ। यो मन्त्रालयलाई १२ वटा कार्यजिम्मेवारी तोकिएको छ। यस मन्त्रालयले अब मुख्य गरी प्रदेश लोकमार्गको निर्माण, स्तरोन्नति, मर्मतसम्भार र सडक प्रविधिसम्बन्धी काम गर्नेछ। यस्तै शहरी विकास, जनता आवास, झोलुंगे पुल तथा प्रदेशस्तरका सरकारी कार्यालयहरूको भवन निर्माण सम्बन्धी जिम्मेवारी यसै मन्त्रालयसँग रहनेछ।

गण्डकी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४ को नियम ८ ले दिएको अधिकार प्रयोग गरी अनुसूची १ र अनुसूची २ मा यो हेरफेर गरिएको हो। राजपत्रमा प्रकाशित सूचना अनुसार प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयसहित कुल ९ वटा मन्त्रालयहरू कायम रहेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयलाई ७२ वटा कार्यजिम्मेवारी तोकिएको छ। यसैगरी आर्थिक मामिला मन्त्रालयलाई २२ वटा, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयलाई १३ वटा, र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई ३४ वटा कार्यजिम्मेवारी सुम्पिएको छ। वन तथा वातावरण मन्त्रालयलाई ३० वटा, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयलाई ३८ वटा र स्वास्थ्य मन्त्रालयलाई २१ वटा कार्यजिम्मेवारी दिइएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका सचिव छविलाल रिजालको आदेशमा राजपत्रको यो सूचना सार्वजनिक भएको हो।

प्रतिक्रिया

भर्खरै