मुस्ताङको कोरला नाकाबाट भित्रिन थाले तिब्बती भेडाच्याङ्ग्रा

मुस्ताङको कोरला नाकाबाट भित्रिन थाले तिब्बती भेडाच्याङ्ग्रा

तिब्वती-भेडाच्याङ्ग्रा-आयो…-(2)

मुस्ताङ । चाडपर्वलाई लक्षित गरी चीनको तिब्बत हुदै लिजी–नेचुङ (कोरला) नाकाबाट भेडाच्याङ्ग्रा भित्रिन थालेका छन् । पाँच वर्षयता तिब्वतबाट कोरला नाका हुदै भेडाच्याङ्ग्रा ल्याउन छोडेका मुस्ताङका व्यवसायीले चीनसँग जोडिएका अन्य नाका बन्द भएपछि यसपटक चार सय १९ भेडाच्याङ्ग्रा कोरला नाका हुँदै ल्याएका हुन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्वासेन हुँदै कोरला नाकाबाट उपल्लो मुस्ताङका भेडाच्याङ्ग्रा व्यवसायीले खरिद गरी ल्याएको पशु क्वारेन्टाइन पोखराका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. गणेश केसीले बताउनुभयो ।  डा.केसीले भन्नुभयो, ‘‘क्वारेन्टाइन ऐनअनुसार चीनबाट आयातित भेडाच्याङ्ग्राको परीक्षण गरिएको छ, एकसातासम्म स्थानीय भेडाच्याङ्ग्राको बथानमा मिसाउन पाइदैँन, प्राविधिकको टोलीले निगरानी गर्छ ।’’

तिब्बतबाट भित्रिएका भेडाच्याङ्ग्राको पशु निरोगिताको प्रमाणपत्र भएपनि खोप विवरण उल्लेख नभएपछि केन्द्रले लोमन्थाङ गाउँपालिकासँगको समन्वयमा खोप लगाएको डा.केसीको भनाइ छ । नेपालमा कुनै देशबाट पशुचौपाया खरिद गरी ल्याउनु अगाडि क्वारेन्टाइन कार्यालयमा पशु निरोगिताको स्वास्थ्य प्रमाण तथा खोप लगाएको विवरण एक साता अगाडि नै जानकारी हुनुपर्ने प्रावधान रहेको छ ।

कोरलाबाट पशुपंक्षीजन्य वस्तु पैठारीका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगत पशुपन्छी क्वारेन्टाइनमा पशु चिकित्सकसहित तीन जनाको दरबन्दी रहेकोमा हाल नेचुङमा एक प्राविधिक र पोखरा कार्यालयबाट नै हेर्ने गरिएको छ ।

विगतमा तिब्बती भेडाच्याङ्ग्रा लामो समयसम्म खोरमा राखिएकाले पैदल मार्गबाट लैजादा नहिँड्ने तथा मुस्ताङको वथानबाट अलग हुने समस्याले व्यापारीले खरिद गर्न छोेडेका थिए । नाका व्यावसायिक रूपमा सञ्चालन भएको एक वर्षपछि पहिलोपटक भेडाच्याङ्ग्रा कोरला नाकाबाट भित्रिएको भएपनि विगतमा मुस्ताङ र तिब्बतका व्यवसायीले बार्टर अर्थात् वस्तु साटासाट गर्ने प्रचलन रहेको थियो ।

प्रतिक्रिया

भर्खरै