पोखरा । विपद्का बेला शव व्यवस्थापनमा हुने समस्या समाधान गर्न पोखरामा २४ शव राख्न सकिने पोर्टेबल मर्चरी हाउस निर्माण गरिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकीको अगुवाइमा जिल्ला प्रशासन कार्यालय कास्कीको करिब ३ लाख रुपैयाँ मूल्यको कन्टेनरलाई स्तरोन्नति गरी शवगृह बनाइएको हो। विभिन्न संघसंस्थाको सहयोगसहित १२ लाख ६५ हजार रुपैयाँ लागतमा निर्माण गरिएको शवगृह बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई हस्तान्तरण गरिएको हो। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले अस्पतालका फरेन्सिक विभाग प्रमुख तथा सह–प्राध्यापक डा. मदनप्रसाद बराललाई शवगृह हस्तान्तरण गरे।
डा. बरालका अनुसार शवगृहमा माइनस शून्य डिग्री सेल्सियसभन्दा कम तापक्रम कायम गर्न सकिने भएकाले शव लामो समयसम्म सुरक्षित राख्न सकिन्छ। अस्पतालको विद्यमान कोल्ड रुममा भने २ देखि ६ डिग्री सेल्सियससम्म तापक्रम रहने उनले बताए।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका शव पोखरा ल्याउँदा ८८ शव राख्ने क्षमता रहेको शवगृहमा १०२ शव पुगेपछि व्यवस्थापनमा समस्या भएको थियो। सो घटनापछि आपतकालीन अवस्थामा शव व्यवस्थापन सहज बनाउन पोर्टेबल शवगृह निर्माण गरिएको महासंघ गण्डकीका कार्यवाहक अध्यक्ष सूर्यबहादुर भुजेलले बताए। आवश्यकताअनुसार शवगृहलाई गण्डकी प्रदेशका जुनसुकै स्थानमा लैजान सकिने जनाइएको छ।