पोखरा । पोखरामा गत फागुनमा भएको २५ औँ संस्करणको आहारारा गोल्ड कपबाट ३ लाख २१ हजार बचत भएको छ । आयोजक सहारा क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरेको हो ।

प्रतियोगिताका संयोजक तथा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलेले दिएको जानकारी अनुसार प्रतियोगिताबाट १ करोड ३३ लाख २३ हजार ४ सय ८५ रुपियाँ आम्दानी भएकोमा १ करोड ३० लाख १ हजार ६ सय ४६ रुपियाँ खर्च भई ३ लाख २१ हजार ८ सय ३९ रुपियाँ बचत भएको हो । आहारारा गोल्ड कपलाई मुख्य प्रयोजक हिमश्री फुड्सले ३० लाख १८ हजार, प्रदेश खेलकुद परिषद्ले १० लाख, पोखरा महानगरपालिकाले १० लाख, सहारा हङ्गकङ्गले ५ लाख सहयोग गरेको गुरुङले बताउनुभयो । गेट टिकटबाट ८ लाख ३३ हजार ५ सय आम्दानी भएको गुरुङले बताउनुभयो ।
सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले आहारारा गोल्ड कपको रजत वर्ष मनाउँदा थप १० लाख खर्च हुँदा बचत कम भएको र राष्ट्रिय खेलकुद परिषद्ले विनियोजन गरेको १० लाख प्राप्त नभएको जानकारी दिनुभयो । प्रतियोगिताबाट बचत भएको रकम सहारा क्लबले पोखरा १७ दोबिल्लामा रहेको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा खर्च गर्दै आएको छ । गत माघ २७ गतेदेखि सुरु भएको प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन भएको थियो । २५ औँ संस्करणको आहारारा गोल्ड कपको उपाधि आयोजक सहारा क्लबले जितेको थियो । प्रतियोगितामा १२ टिम सहभागी भएका थिए ।