मोदी खोलाको बाढीले बेलि ब्रिज बगायो, सडक अवरुद्ध, मन्दिर जोखिममा

मोदी खोलाको बाढीले बेलि ब्रिज बगायो, सडक अवरुद्ध, मन्दिर जोखिममा

birethanti-

कास्की । स्कीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा मोदी खोलामा आएको बाढीले सडक, पुल र धार्मिक संरचनामा क्षति पुर्‍याएको छ। बाढीका कारण नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक खण्ड अवरुद्ध भएको छ भने खोलाको बीचभागमा रहेको माता अन्नपूर्ण मन्दिर र त्यहाँ रहेका तीन जना व्यक्ति जोखिममा परेका छन्।

बिहीबार रातिदेखि परेको अविरल वर्षापछि मोदी खोलाको बहाव बढ्दा अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीस्थित नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक खण्डमा खोलाले सडक कटान गरेको छ। सडकको केही भाग बगाएपछि उक्त सडक खण्डमा यातायात सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बिरेठाँटीबाट प्रहरी नायब निरीक्षक दिलबहादुर भण्डारीको कमाण्डमा ५ जनाको टोली घटनास्थलमा खटिएको छ। टोलीले सडकको अवस्था, क्षतिको विवरण र आवतजावतको स्थितिबारे अनुगमन गरिरहेको छ।

यसैबीच, अन्नपूर्ण गाउँपालिका–५ हाईजुङस्थित मोदी खोलाको बीचभागमा रहेको डिस्कोमा अवस्थित माता अन्नपूर्ण मन्दिरमा बस्ने एक जना पुजारीसहित तीन जना पुरुष बाढीका कारण फसेका छन्। उनीहरूको नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। तीन जना व्यक्ति जोखिममा परेको खबर साउन २९ गते राति १ बजेर २७ मिनेटमा जिल्ला प्रहरी कार्यालय कास्कीमा प्राप्त भएपछि प्रहरी चौकी नयाँपुलबाट प्रहरी सहायक निरीक्षक रमेश अधिकारीको कमाण्डमा ४ जनाको टोली घटनास्थलतर्फ खटिएको छ। उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल नम्बर २४ गण कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको कमाण्डमा १३ सदस्यीय विपद् व्यवस्थापन टोली पनि परिचालन गरिएको छ।

प्रहरीका अनुसार निरन्तर वर्षा भइरहेकाले मोदी खोलाको बहाव थप बढ्न सक्ने अवस्था छ। पानीको सतह अझै बढेमा माता अन्नपूर्ण मन्दिर रहेको डिस्कोसहितको भूभाग नै बगाउने जोखिम रहेको छ। उक्त स्थान प्रहरी चौकी नयाँपुलबाट करिब १ किलोमिटर उत्तरतर्फ पर्छ। बाढीले यसअघि क्षति पुर्‍याएको हाईजुङ–पर्वत जोड्ने फलामे पुल पनि थप प्रभावित भएको छ। साउन २० गते रातिको अविरल वर्षापछि अन्नपूर्ण गाउँपालिका–६ हाईजुङ र पर्वतको मोदी गाउँपालिका–१ जोड्ने पैदलयात्री आवतजावत गर्ने फलामको पुल कास्कीतर्फको भागबाट पूर्ण रूपमा भत्किएर खोलामा खसेको थियो। त्यस घटनापछि साउन २१ गते बिहान सूचना प्राप्त हुनासाथ प्रहरी चौकी नयाँपुलबाट प्रहरी सहायक निरीक्षक रमेश अधिकारीको कमाण्डमा २ जनाको टोली खटिएको थियो। पुल नजिकै पर्वततर्फ रहेको अन्नपूर्ण मन्दिरको पर्खाल पनि भत्किएकाले मन्दिर जोखिममा परेको थियो।

प्रहरीका अनुसार साउन २८ गते आएको पछिल्लो बाढीले खोलामा खसेर रहेको उक्त पुललाई समेत बगाएको छ। यससँगै पुल पुनःस्थापनाको सम्भावना थप जटिल बनेको छ। मोदी खोलामा पानीको बहाव उच्च रहेकाले आसपासका बस्ती, सडक र नदी किनार क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रभावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले निरन्तर निगरानी तथा उद्धार तयारी गरिरहेको छ। अन्य विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया