पोखरा । टिभिएस मोटर कम्पनीले नेपाली बजारलाई लक्ष्य गर्दै नयाँ इलेक्ट्रिक स्कुटर ‘अरबिटर’ सार्वजनिक गरेको छ । पोखरामा जगदम्बा मोटर्सको आधिकारिक बिक्री सञ्जालमार्फत यो स्कुटर बजारमा ल्याइएको हो । कम्पनीले यसलाई सहरी यात्राका लागि स्मार्ट, दिगो र सुविधाजनक विद्युतीय मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरेको छ । यसको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो नयाँ मोडलको सार्वजनिकसँगै नेपालमा टिभिएसको विद्युतीय दुईपांग्रे सवारीको पोर्टफोलियो थप विस्तार भएको छ ।

नयाँ अरबिटरमा ३।१ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । यसले एक पटकको फुल चार्जमा १५८ किलोमिटरको ‘आइडिएस’ रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । स्कुटरमा क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट र पार्किङ असिस्टजस्ता आधुनिक सुविधाहरू उपलब्ध छन् । चालकले आफ्नो सहजता अनुसार इको र पावर मोड प्रयोग गर्न सक्छन् । यसमा ऊर्जा बचतका लागि रिजेनेरेटिभ ब्रेकिङ प्रणालीसमेत राखिएको छ ।
यो स्कुटरको प्रमुख विशेषता यसको १४ इन्चको अगाडिको पांग्रा हो । उद्योगमै पहिलो पटक १४ इन्चको फ्रन्ट ह्विल भएको इलेक्ट्रिक स्कुटरका रूपमा यसलाई बजारमा ल्याइएको छ । ठूलो पांग्राले विभिन्न सडक अवस्थामा राम्रो स्थिरता, ग्रिप र ह्यान्डलिङ सुधार गर्ने कम्पनीले जनाएको छ । सामान राख्नका लागि यसमा ३४ लिटरको ठूलो ’अन्डर सिट’ स्टोरेज छ । यसमा दुई वटा हेल्मेट सजिलै अटाउन सकिन्छ । चालक र यात्रुको आरामका लागि ८ सय ४५ मिलिमिटर लामो फ्ल्याटफर्म सिट र २ सय ९० मिलिमिटरको स्ट्रेट लाइन फुटबोर्ड उपलब्ध गराइएको छ ।
प्रविधिका हिसाबले अरबिटर निकै उन्नत छ । यसमा कनेक्टेड मोबाइल एप, कल तथा ‘एसएमएस’ अलर्टसहितको कलर एलसीडी डिजिटल क्लस्टर छ । स्कुटरमा टर्न बाई टर्न नेभिगेसन र ‘ओटिए’ अपडेटको सुविधासमेत छ । मोबाइल एपमार्फत ब्याट्री चार्जको अवस्था र ओडोमिटरको विवरण टाढैबाट जाँच गर्न सकिन्छ । सुरक्षालाई ध्यानमा राख्दै यसमा दुर्घटना वा स्कुटर ढलेको अवस्थामा अलर्ट जाने व्यवस्था छ । यसका साथै चोरी तथा टोइङ अलर्ट, जियोफेन्सिङ, टाइमफेन्सिङ र लाइभ लोकेसन ट्र्याकिङजस्ता स्मार्ट फिचर यसमा समावेश छन् ।
कार्यक्रममा स्क्वायर मोटर्सका अध्यक्ष आदर्शमान श्रेष्ठले टिभिएस आइक्युबको सफलतापछि अरबिटरले बजारमा कम्पनीको उपस्थितिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । देशव्यापी बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई सहज खरिद र स्वामित्व अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको उनले बताए ।