गण्डकी प्रदेशमा ९९ प्रतिशत धान रोपाइँ

गण्डकी प्रदेशमा ९९ प्रतिशत धान रोपाइँ

Dhan

पोखरा। गण्डकी प्रदेशमा यस वर्ष ९९ दशमलव ३९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म ९३ हजार ६०६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो ।

‘साउन अन्तिमसम्ममा सबै क्षेत्रमा रोपाइँ भइसक्छ,’ मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शशि अधिकारीले बताए । छिटपुटबाहेक अधिकांश ठाउँमा धान रोप्ने काम सकिएको उनले जानकारी दिए । गण्डकी प्रदेशमा कुल ४ लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिन छ । यसमध्ये बर्खे र चैत गरी करिब १ लाख हेक्टरमा धान खेती हुने गरेको छ ।

पछिल्लो समय प्रदेशमा धान खेतीको क्षेत्रफल भने बर्सेनि घट्दो क्रममा छ । ‘तथ्यांक हेर्दा रोपाइँ हुने क्षेत्रफल वर्षैपिच्छे कम हुँदै गएको देखिन्छ,’ अधिकारीले भने । ४ वर्षअघि ९७ हजार ७६९ हेक्टरमा बर्खे धान रोपिएको थियो । त्यसको अर्को वर्ष क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टरमा खुम्चिएको थियो । गत आर्थिक वर्षमा ९४ हजार १८२ हेक्टरमा मात्र रोपाइँ भएको थियो । जग्गा खण्डीकरण र बाँझो छाड्ने प्रवृत्तिले खेतीको क्षेत्रफल घटेको हो । खेतीयोग्य जमिनमा बस्ती विस्तार र पूर्वाधार विकासले पनि धान फल्ने जमिन नासिँदै गएको छ ।

प्रदेशका ९ जिल्लामा धान खेती गरिन्छ । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङमा भने धान उत्पादन हुँदैन । नवलपुर, कास्की, स्याङ्जा र तनहुँमा धान खेतीको क्षेत्रफल बढी छ । यहाँ सावित्री, रामधान, जेठोबुढो, खुमल र सुक्खा जातका धान लगाइन्छ । यस्तै एक्ले, पहेँले, गौरिया, मनुसली र सुनौलो सुगन्ध जस्ता धान पनि यहाँका किसानले रोप्ने गरेका छन् ।

मन्त्रालयले विभिन्न जिल्लाका क्षेत्रलाई धानको पकेट क्षेत्र तोकेको छ । गोरखाको छेवेटार, पालुङटार, आरुघाट र सिरानचोक यसमा पर्छन् । लमजुङका धमिलीकुवा, हर्राबोट, भोर्लेटार र करापुटारमा धानको राम्रो उत्पादन हुन्छ । तनहुँका चुँदीफाँट, सत्रसय फाँट र कलेस्तीफाँटलाई पकेट क्षेत्र मानिन्छ । कास्कीका मकैखोला, हाँडीखोला, पामे र लेखनाथ पनि धानका लागि प्रख्यात छन् ।

यसैगरी पर्वतको फलेबास र जलजलामा धान खेती धेरै हुन्छ । स्याङ्जाका पुतलीबजार, आँधीखोला र गल्याङ धान उत्पादनका केन्द्र हुन् । म्याग्दीका भगवती, पिप्ले र घतानमा पनि धान रोपाइँ हुन्छ । बागलुङका बडिगाड, गलकोट र जैमिनीलाई पकेट क्षेत्रका रूपमा लिइन्छ । नवलपुरको कावासोती र गैँडाकोटमा पनि धान खेतीको विस्तार राम्रो छ ।

प्रतिक्रिया