तस्बिर एजेन्सी
एजेन्सी

डोनाल्ड ट्रम्पका समर्थकहरू पछिल्ला निर्णयहरूबाट निराश देखिएका छन्, जसले रिपब्लिकन पार्टीलाई २०२६ को मध्यावधि निर्वाचन नजिकिँदै गर्दा चिन्तित बनाएको छ ।
अर्थतन्त्र, इरान युद्ध, र ट्रम्पका प्राथमिकताहरूसँग सम्बन्धित विभिन्न विषयमा रिपब्लिकन तथा स्वतन्त्र मतदाताको ठूलो हिस्साले असन्तुष्टि जनाएको छ ।
ट्रम्पका समर्थकहरूमा उत्साह घट्दै गएको छ, जसमा ३० प्रतिशतले निराशा वा डर व्यक्त गरेका छन्, जुन विगतका राष्ट्रपतिहरूको तुलनामा बढी हो ।
सन् २०२६ को मध्यावधि निर्वाचन नजिकिँदै गर्दा रिपब्लिकनहरू आफ्ना समर्थकमा देखिएको उत्साहको कमीलाई लिएर चिन्तित हुन थालेका छन् । डोनाल्ड ट्रम्प सहभागी नभएका निर्वाचनमा उनका समर्थकहरू तुलनात्मक रूपमा कम मतदान गर्ने सम्भावना पहिले नै बढी थियो ।
अब रिपब्लिकन पार्टीले राष्ट्रपति ट्रम्पको लोकप्रियता अहिलेसम्मकै कमजोर बनेको अवस्थासँग पनि जुध्नुपर्ने भएको छ । सीएनएनको नयाँ जनमत सर्वेक्षणले पनि यो समस्या उजागर गरेको छ । ट्रम्पका समर्थकहरूको ठुलो हिस्सा पछिल्ला समय उनले गरेका विभिन्न निर्णयबाट निराश देखिएको छ ।
अर्थतन्त्रदेखि इरान युद्ध, ट्रम्पको व्यक्तिगत आर्थिक लाभ र वासिङ्टनलाई आफूअनुकूल बनाउने प्रयाससम्मका विषयमा सोधिएका विभिन्न प्रश्नमा रिपब्लिकन तथा रिपब्लिकनतर्फ झुकाव राख्ने स्वतन्त्र मतदाताको ठुलो हिस्साले असन्तुष्टि जनाएका छन् ।कतिपय विषयमा असन्तुष्टिको दर ३०, ४०, ५० प्रतिशत वा त्योभन्दा पनि बढी छ ।समग्रमा सीएनएनको सर्वेक्षणमा ३० प्रतिशत रिपब्लिकन तथा रिपब्लिकनतर्फ झुकाव राख्ने स्वतन्त्र मतदाताले ट्रम्पको कामप्रति असन्तुष्टि जनाएका छन् । यो संख्या आफैँमा निकै ठुलो हो । तर केही विषयमा ट्रम्पका समर्थकमा रहेको निराशाको स्तर यसभन्दा पनि गहिरो छ ।
मुख्य समस्या : अर्थतन्त्र
ट्रम्प र रिपब्लिकन पार्टीका लागि सबैभन्दा चिन्ताजनक तथ्याङ्क निश्चय नै अर्थतन्त्रसँग सम्बन्धित छन् । अर्थतन्त्र सामान्यतया मतदाताको सबैभन्दा ठुलो चासोको विषय हो । त्यसमाथि, यही क्षेत्रमा ट्रम्पका लागि सबैभन्दा खराब तथ्याङ्क देखिएका छन् ।
रिपब्लिकन तथा रिपब्लिकनतर्फ झुकाव राख्ने स्वतन्त्र मतदातामध्ये ६४ प्रतिशतले पेट्रोलको उच्च मूल्यले आफूलाई कम्तीमा ‘मध्यम स्तरको आर्थिक कठिनाइ’मा परेको बताएका छन् । ५६ प्रतिशतले अर्थतन्त्रलाई कमजोर वा निकै कमजोर रहेको बताएका छन् भने ५६ प्रतिशतले दैनिक उपभोग्य वस्तुको मूल्य घटाउन ट्रम्पले पर्याप्त काम नगरेको बताएका छन् ।
त्यसैगरी ५६ प्रतिशतले पेट्रोलको मूल्यसम्बन्धी ट्रम्पको कामप्रति असन्तुष्टि जनाएका छन् । ५१ प्रतिशतले पेट्रोलको मूल्य घटाउने ट्रम्पसँग स्पष्ट योजना नभएको बताएका छन् । ५० प्रतिशतले ट्रम्पका नीतिले आर्थिक अवस्था सुधार नगरेको बताएका छन् । त्यसमध्ये ३१ प्रतिशतमा उनका नीतिले अवस्था झन् खराब बनाएको मान्दछन् भने ४७ प्रतिशतले मुद्रास्फीतिसम्बन्धी ट्रम्पको कामप्रति असन्तुष्टि जनाएका छन् ।
अर्थात् ट्रम्पका आफ्नै समर्थकको करिब आधा वा त्योभन्दा बढी हिस्साले अहिले अर्थतन्त्र र त्यसको व्यवस्थापनप्रति गम्भीर गुनासो गरिरहेको देखिन्छ ।
इरान युद्धप्रति पनि असन्तुष्टि
इरानको विषयमा तथ्याङ्क केही कम निराशाजनक भए पनि अवस्था अझै गम्भीर छ । रिपब्लिकन तथा रिपब्लिकनतर्फ झुकाव राख्ने स्वतन्त्र मतदातामध्ये ६४ प्रतिशतले इरानसँग दीर्घकालीन युद्ध हुने सम्भावना रहेको बताएका छन् ।
४५ प्रतिशतले युद्धका कारण भएको मानवीय तथा आर्थिक क्षतिको मूल्य चुक्ता हुन नसक्ने बताएका छन् । ४५ प्रतिशतले ट्रम्पसँग इरानका लागि स्पष्ट योजना नभएको बताएका छन् । ४० प्रतिशतले इरानसम्बन्धी ट्रम्पको समग्र कामप्रति असन्तुष्टि जनाएका छन् । समग्रमा ३९ प्रतिशतले इरानमा सैन्य कारबाहीसम्बन्धी ट्रम्पका निर्णयले अमेरिकालाई क्षति पुर्याएको बताएका छन् । यसविपरीत ४४ प्रतिशतले ती निर्णयले अमेरिकालाई फाइदा पुगेको बताएका छन् ।
इरानको विषयमा ट्रम्पप्रतिको असन्तुष्टि बढ्दो क्रममा छ । यी समूहमा ट्रम्पको इरानसम्बन्धी कामप्रति असन्तुष्टि मार्चमा ३० प्रतिशत रहेकोमा अहिले बढेर ४० प्रतिशत पुगेको छ ।
ट्रम्पका प्राथमिकताप्रति पनि प्रश्न
सर्वेक्षणले ट्रम्पका धेरै समर्थकले राष्ट्रपतिको प्राथमिकतासमेत मन नपराएको देखाएको छ । यसमा उनको व्यक्तिगत आर्थिक गतिविधि तथा ह्वाइट हाउसको बलरुम र लिंकन मेमोरियल रिफ्लेक्टिङ पुलजस्ता परियोजना पनि पर्छन् ।
रिपब्लिकन तथा रिपब्लिकनतर्फ झुकाव राख्ने स्वतन्त्र मतदातामध्ये ४५ प्रतिशतले ट्रम्प ‘सर्वसाधारण अमेरिकीले दैनिक जीवनमा सामना गर्ने समस्यासँग परिचित छैनन्’ भनेका छन् । जनवरीमा यस्तो धारणा राख्नेको संख्या ३४ प्रतिशत थियो । ३९ प्रतिशतले उनले देशका सबैभन्दा महत्त्वपूर्ण समस्यामा पर्याप्त ध्यान नदिएको बताएका छन् । जनवरीमा यस्तो धारणा राख्ने २५ प्रतिशत मात्र थिए ।
करिब १० मध्ये ३ जनाले स्मिथसोनियन र केनेडी सेन्टरजस्ता संस्थामा परिवर्तन गर्ने, ह्वाइट हाउस तथा वासिङ्टनका अन्य ऐतिहासिक स्थल पुनर्निर्माण गर्ने र राष्ट्रपति पदमा रहँदा व्यक्तिगत व्यावसायिक हित अघि बढाउने ट्रम्पका कदम ‘अति भएको’ बताएका छन् ।
३० प्रतिशतले ट्रम्पले आफ्नो व्यक्तिगत लाभभन्दा देशको हितलाई प्राथमिकता नदिएको बताएका छन् । २६ प्रतिशतले ह्वाइट हाउसको बलरुम र रिफ्लेक्टिङ पुलप्रति आफूहरू क्रोधित वा असन्तुष्ट रहेको बताएका छन् । यसविपरीत केवल ३९ प्रतिशतले यी परियोजनाप्रति सकारात्मक धारणा राखेका छन् ।
अर्थतन्त्र कमजोर हुनु र आफूले गरेका कामले अपेक्षित परिणाम नदिएको ठानिनु ट्रम्पका लागि आफैँमा खराब अवस्था हो । तर मुद्रास्फीतिलाई बेवास्ता गरेको ठान्ने उनका समर्थकको बहुमतसँग यी तथ्याङ्क जोड्दा समस्या अझ स्पष्ट हुन्छ ।
धेरै समर्थकले ट्रम्पको ध्यान त्यस्ता विषयमा केन्द्रित भएको ठान्न थालेका छन्, जुन या त प्राथमिकतामा राख्नै नहुने विषय हुन् वा ति जनतामाझ लोकप्रिय छैनन् ।
घट्दो उत्साह
ट्रम्प दोस्रो पटक राष्ट्रपतिको पदमा फर्किएको सुरुवाती महिनामा यिनैमध्ये धेरै प्रश्न सोध्दा उनका समर्थकमा उल्लेखनीय उत्साह देखिएको थियो । ट्रम्पको दोस्रो कार्यकालको बाँकी समयबारे आफ्ना भावना वर्णन गर्न लगाउँदा त्यसबेला रिपब्लिकन तथा रिपब्लिकनतर्फ झुकाव राख्ने स्वतन्त्र मतदातामध्ये करिब ९० प्रतिशतले आफूहरू ‘उत्साहित’ वा ‘आशावादी’ रहेको बताएका थिए । तर अहिले त्यो संख्या घटेर ७० प्रतिशतमा पुगेको छ ।
अर्कोतर्फ ३० प्रतिशतले आफूहरू ‘निराश भएको’ वा ‘डराएको’ बताएका छन् ।
राष्ट्रपतिका आफ्नै समर्थकमध्ये ३० प्रतिशतले नकारात्मक भविष्य दृष्टिकोण राख्नु उल्लेखनीय तथ्य हो । सन् २०१२ मा बाराक ओबामा पुनः निर्वाचित भएपछि डेमोक्र्याट तथा डेमोक्र्याटतर्फ झुकाव राख्ने स्वतन्त्र मतदातामध्ये केवल ८ प्रतिशतले आफूहरू ‘निराशा भएको वा डराएको’ बताएका थिए ।
त्यस्तै, सन् २००४ मा जर्ज डब्ल्यू बुश पुनः निर्वाचित हुनुअघि उनका रिपब्लिकन समर्थकमध्ये केवल ५ प्रतिशतले यस्तै धारणा राखेका थिए ।
हालै प्यु रिसर्च सेन्टरको अर्को सर्वेक्षणले पनि यही असन्तुष्टिको संकेत गरेको छ । त्यसमा ८१ प्रतिशत डेमोक्र्याट तथा डेमोक्र्याटतर्फ झुकाव राख्ने स्वतन्त्र मतदाताले मध्यावधि निर्वाचनमा आफ्नो मत ट्रम्पविरुद्ध हुने बताएका थिए । यसको तुलनामा ४४ प्रतिशत रिपब्लिकन तथा रिपब्लिकनतर्फ झुकाव राख्ने स्वतन्त्र मतदाताले आफ्नो मत ट्रम्पको पक्षमा हुने बताएका थिए ।
यस्तो निराशाको संकेत एक वर्षअघिदेखि नै देखिन थालेको थियो, जब जेफ्री एपस्टिन प्रकरण व्यापक रूपमा चर्चामा आएको थियो । पछिल्लो तथ्याङ्कले भने यस्तो असन्तुष्टि अब रिपब्लिकन आधारको ठुलो हिस्सामा फैलिएको देखाउँछ ।
सन् २०२६ को मध्यावधि निर्वाचनको तयारी गरिरहेको रिपब्लिकन पार्टीका लागि यो अवस्था निकै प्रतिकूल समयमा आएको छ । ट्रम्पका आफ्नै समर्थकमा उत्साह घट्दै जानु र आर्थिक तथा विदेश नीतिसहित उनका प्राथमिकताप्रति असन्तुष्टि बढ्नुले आगामी निर्वाचनमा पार्टीका लागि ठुलो चुनौती खडा गर्न सक्छ ।
सीएनएनबाट
