पोखरा, आगामी २०८३ साल भदौ २० र २१ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनका लागि ललित बहादुर कुँवरले उद्योग उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
“सबल उद्योग, समृद्ध पोखरा हाम्रो साझा संकल्प” भन्ने मूल नारासहित उम्मेदवारी घोषणा गर्दै कुँवरले उद्योगी व्यवसायीको हक हितको संरक्षण, उद्योग क्षेत्रको विकास, निजी क्षेत्रको सशक्तीकरण तथा समृद्ध पोखरा निर्माणलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

कुँवरले अघिल्लो कार्यकालमा कार्यसमिति सदस्य पदमा सर्वाधिक मत प्राप्त गरी निर्वाचित गराई विश्वास व्यक्त गर्नुहुने सम्पूर्ण उद्योगी तथा व्यवसायीप्रति हार्दिक आभार व्यक्त गर्दै उक्त विश्वासलाई अझ जिम्मेवार, पारदर्शी, परिणाममुखी र उद्योगमैत्री नेतृत्वमार्फत सार्थक बनाउने प्रतिबद्धता जनाउनुभएको छ।

उहाँले आफ्नो उम्मेदवारीका प्रमुख प्राथमिकतामा उद्योगीहरूको हक–हितको प्रभावकारी संरक्षण, उद्योग क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण, साना, मझौला तथा घरेलु उद्योगको प्रवर्द्धन, युवा उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन, पारदर्शी तथा उत्तरदायी नेतृत्वको विकास र उद्योग, व्यापार तथा पर्यटनबीच समन्वय गर्दै समृद्ध पोखरा निर्माणलाई अघि सार्नुभएको छ।
कुँवरले आफ्नो उम्मेदवारी व्यक्तिगत आकांक्षाभन्दा माथि उठेर सम्पूर्ण उद्योगी–व्यवसायीको साझा भविष्य निर्माण गर्ने अभियान भएको उल्लेख गर्दै आगामी महाधिवेशनमा सम्पूर्ण उद्योगी तथा व्यवसायीको अमूल्य मत, विश्वास, साथ र सहयोगको अपेक्षा गर्नुभएको छ।