लस एन्जल्स (अमेरिका)। स्टिफन युस्टाकियोले इन्जुरी समयमा गोल गरेपछि क्यानडाले सोमबार दक्षिण अफ्रिकलाई नाटकीय रूपमा १–० ले हराएर विश्वकप फुटबल २०२६ को प्रिक्वाटरफाइनलमा पुगेको छ । सहआयोजक क्यानडा विश्वकपको नकआउट चरणमा पुगेकै यो पहिलो पटक हो । दक्षिण अफ्रिकाले पनि पहिलो पटक समूह चरण पार गरेको थियो ।


पहिलो पटक नकआउट खेलेका यी दुई टिमबिचको खेल अतिरिक्त समयतर्फ अग्रसर थियो तर युस्टाकियोले डिबक्सबाहिरबाट दर्शनीय ढङ्गले गोल गरी क्यानडालाई प्रिक्वाटरफाइनलमा पु¥यायो भने दक्षिण अफ्रिकाको मुटु छियाछिया भयो । पोर्टोबाट लस एन्जल्स एफसीमा ऋणमा पुगेका युस्टाकियोले बललाई छातीले नियन्त्रणमा लिँदै गोलपोस्टको बायाँ कुनामा छिराउनुभएको थियो ।
समूह चरणमा उपविजेता बनेपछि सहआयोजक भए पनि क्यानडाले दक्षिण अफ्रिकाविरुद्ध घरेलु मैदानमा खेल्न पाएन । यद्यपि लस एन्जल्सस्थित रङ्गशाला पनि क्यानडाका लागि घरेलु मैदानभन्दा कम थिएन । अपार समर्थनसहित जित प्राप्त गरेपछि अब क्यानडाले ह्युस्टनमा नेदरल्यान्ड्स अथवा मोरोक्कोमध्ये एकविरुद्ध खेल्ने छ ।
