इङ्गल्यान्ड र घानाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेका छन् ।


समूह ‘एल’ अन्तर्गत बुधबार राति भएको खेलमा इङ्गल्यान्डले क्रोएसियालाई ४–२ गोलले हरायो । यही समूहको अर्को खेलमा अफ्रकी टोली घानाले पानमालाई १–० गोलले स्तब्ध बनायो ।
अमेरिकाको डालास रङ्गशालामा भएको खेलमा इङ्गल्यान्डलाई जिताउन कप्तान ह्यारी केनले १२औँ र ४२औँ मिनेटमा दुई गोल गर्नुभयो । यस्तै जुद बेलिङ्घमले ४७औँ र मार्कस रासफोर्डले ८५औँ गोल गर्नुभयो ।

क्रोएसियाका लागि मार्टिन बाटुरिनाले ३६औँ र पेटर मुसाले पहिलो हाफको इन्जुरी समयमा गोल गर्नुभयो । सन् १९६६ को विश्वकप विजेता इङ्गल्यान्डले जितसँगै ६ अङ्क बनाएको छ । क्रोएसियाले हारबाट विश्वकप यात्रा तय गरेको छ ।
यस्तै अर्को खेलमा घानालाई जिताउन कालेब यिरेन्कीले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै पानमालाई स्तब्ध बनाउनुभएको हो । पहिलो जितसँगै ६ अङ्क बनाएको घाना दोस्रो स्थानमा छ । पानमाले हारबाट विश्वकपको सुरुवात गरेको छ । एजेन्सी