फिफा विश्वकपको उपाधि दावेदार पोर्चुगल पहिलो खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी कङ्गोसँग बराबरीमा रोकिएको छ ।


समूह ‘के’ अन्तर्गत एनआरजी रङ्गशालामा बुधबार राति भएको खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले कङ्गोसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । विश्वकपमा ५२ वर्षपछि स्थान बनाएको अफ्रिकी टोली कङ्गोले पोर्चुगललाई बराबरीमा रोक्दै उत्साह जगाएको छ ।
खेलमा सुरुवाती अग्रता पोर्चुगलले लिएको थियो । छैटौँ मिनेटमा जोआओ नेभेजले पेड्रो नेटोको पासमा हेड गोल गर्दै पोर्चुगललाई अग्रता दिलाउनुभयो ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा कङ्गोका स्ट्राइकर योने विस्साले आर्थर मासुवाकुको पासमा हेड गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । दोस्रो हाफमा ७५ प्रतिशत बल नियन्त्रणमा राख्दै लगातार मौका पाएपनि गोल गर्न नसक्दा पोर्चुगल अङ्क बाँड्न बाध्य भयो ।
विश्वकपमा लगातार छैटौँ खेल खेल्ने दोस्रो खेलाडीको कीर्तिमान बनाउनुभएका ४१ वर्षीय महान खेलाडी रोनाल्डोले दुई वटा उत्कृष्ट अवसर गुमाउनुभएको थियो ।
उहाँले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीसँगै ६ वटा विश्वकप खेल्ने खेलाडीको कीर्तिमान रचेपछि गोल गर्न नसक्दा आलोचना समेत खेल्नुभएको छ । बराबरीसँगै दुवै टोलीले एक एक अङ्क बनाएका छन् ।
यही समूहको अर्को खेलमा कोलम्बियाले उज्वेकिस्तानलाई ३–१ गोलले हराएको छ । पहिलो जितसँगै तीन अङ्क बनाएको कोलम्बिया शीर्षस्थानमा छ । उज्वेकिस्तानले हारबाट विश्वकपको यात्रा तय गरेको छ । एजेन्सी