पोखरा । धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्दै गण्डकी प्रदेशका प्रमुख तीर्थस्थलहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा थप स्थापित गर्ने उद्देश्यसहित पोखराको तालबाराही मन्दिरदेखि मुस्ताङको पवित्र दामोदर कुण्डसम्म विशेष धार्मिक तथा पर्यटन प्रवर्द्धन यात्रा भाेलिदेखि हुँदैछ ।
पोखरा महानगरपालिकाले घोषणाा गरेकाे ‘पोखरा भ्रमण वर्ष’ अभियान र नेपाल पर्यटक यातायात व्यवसायी संघको संयुक्त आयोजनामा भाेलिदेखि ५ दिने धार्मिक तथा पर्यटकीय प्रवर्द्धन यात्रा हुन लागेको हो। यात्रा फेवातालको बीचभागमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिरबाट शुभारम्भ गरिने नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष रविप्रसाद आचार्यले जानकारी दिए। यात्राका क्रममा सहभागीहरूले विश्वप्रसिद्ध मुक्तिनाथ मन्दिर तथा हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने दामोदर कुण्डको दर्शन गर्नेछन्। साथै, मार्गमा पर्ने विभिन्न मठमन्दिर, धार्मिक तथा सांस्कृतिक सम्पदाको अवलोकनसमेत गर्ने कार्यक्रम छ।
गण्डकी प्रदेश प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले समृद्ध क्षेत्रका रूपमा परिचित छ। पोखराको तालबाराही, बिन्ध्यवासिनी, गुप्तेश्वर गुफादेखि मुस्ताङको मुक्तिनाथ र दामोदर कुण्डसम्मका धार्मिक स्थलहरूले हरेक वर्ष हजारौं स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्दै आएका छन्। विशेषगरी हिन्दू र बौद्ध धर्मावलम्बीका लागि मुक्तिनाथ तथा दामोदर कुण्ड महत्वपूर्ण तीर्थस्थल मानिन्छन्। पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारीले धार्मिक पर्यटनले पोखरा भ्रमण वर्ष अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार धार्मिक गन्तव्यहरूलाई पर्यटनसँग जोडेर आन्तरिक तथा बाह्य पर्यटकको बसाइ अवधि लम्ब्याउन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुनेछन्।
नेपालको प्रमुख पर्यटकीय राजधानीका रूपमा परिचित पोखरा प्राकृतिक सौन्दर्यसँगै धार्मिक तथा सांस्कृतिक पर्यटनको पनि केन्द्र बन्दै गएको छ। पोखराबाट मुस्ताङसम्म फैलिएको धार्मिक पर्यटन मार्गले हिमाली संस्कृति, प्राकृतिक दृश्यावलोकन र आस्थाको यात्रालाई एकैसाथ अनुभव गर्ने अवसर प्रदान गर्ने भएकाले यसको सम्भावना अझ व्यापक रहेको पर्यटन व्यवसायीहरू बताउँछन्।
नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका पूर्वअध्यक्ष बाबुराम पाण्डेले संघले विगतदेखि नै पर्यटन प्रवर्द्धनका विविध कार्यक्रम सञ्चालन गर्दै आएको र यस वर्ष धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेर अभियानलाई निरन्तरता दिएको बताए। कार्यक्रम संयोजक विकास कँडेलका अनुसार भ्रमण टोलीमा करिब ३५ जनाको सहभागिता रहनेछ। यस यात्राले पोखरा, मुस्ताङ तथा समग्र गण्डकी प्रदेशका धार्मिक गन्तव्यहरूको प्रचारप्रसारमा टेवा पुग्नुका साथै धार्मिक पर्यटनमार्फत प्रदेशको पर्यटन अर्थतन्त्रलाई थप मजबुत बनाउने अपेक्षा आयोजकको छ ।