तनहुँमा लोपोन्मुख नौ प्रजातिका गिद्धको पुनरागमन

तनहुँमा लोपोन्मुख नौ प्रजातिका गिद्धको पुनरागमन

gidda

तनहुँ। प्राकृतिक खाद्य चक्रका संवाहक एवं ’प्रकृतिका कुचिकार’ मानिने लोपोन्मुख प्रजातिका गिद्धहरू तनहुँमा बथानसहित फर्किएका छन् ।व्यास नगरपालिका–१० दुम्सीस्थित व्यास गौसंरक्षण केन्द्रले गरेको सुरक्षित आहाराको व्यवस्थापन र संरक्षणमुखी नीतिले गर्दा विगतमा हराउँदै गएका गिद्धहरूको पुनरागमन भएको हो ।केन्द्रमा अहिले रैथाने र आगन्तुक गरी नौ प्रजातिका करिब एक सयको सङ्ख्यामा गिद्धहरू दैनिक रूपमा देखिन थालेका छन् ।

नगरपालिकाले सञ्चालन गरेको गौसंरक्षण केन्द्रमा प्राकृतिक रूपमा मरेका गाईगोरुलाई सुरक्षित रूपमा गिद्धको आहारा (सिनो) बनाउने व्यवस्था मिलाएपछि यी चराको बासस्थान सुरक्षित बनेको हो । व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले भौतिक पूर्वाधारसँगै प्रकृति र प्राणीको सहअस्तित्व रक्षाका लागि यो मानवीय र प्राकृतिक अभियान चलाइएको बताउनुभयो।

नगर प्रमुख न्यौपानेले भन्नुभयो, “गौसंरक्षण केन्द्रमार्फत हामीले एउटा पूर्ण पर्यावरण चक्र (इकोसिस्टम) निर्माण गरेका छौँ, जहाँ गाई, गिद्ध, नदी र वनस्पति सबै आपसमा जोडिएका छन्। यस अभियानका लागि नगरपालिकाले वार्षिक १५ लाख रुपियाँसम्म बजेट विनियोजन गर्दै आएको छ ।”

केन्द्रमा कार्यरत कर्मचारीको पारिश्रमिक, गाईको दाना, औषधि र पूर्वाधार सुरक्षामा नगरपालिकाले निरन्तर लगानी गरिरहेको छ।केन्द्रका अध्यक्ष तथा वडा नम्बर १० निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाका अनुसार नगरपालिकाले दूरगामी महत्वको क्षेत्रमा लगानी गरेर पर्यावरण र जनजीवन दुवैलाई सन्तुलित बनाएको छ । यस कार्यमा स्थानीय र राष्ट्रिय निकायको पनि उत्तिकै साथ छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सिनोलाई गिद्धका लागि सुरक्षित बनाउन प्राविधिक सहयोग गरिरहेको छ भने तनहुँ जलविद्युत आयोजनाले गिद्ध बस्नका लागि अग्ला खम्बाहरूको व्यवस्था गरिदिएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो सहयोगले गिद्धको बासस्थान सुरक्षित बनाउन मद्दत पुगेको छ ।

व्यास नगरपालिका–५ ढोडेनी स्थित माँ अम्बे अलौकिक कृषि फर्मकी सञ्चालिका कल्पना गौली व्यास नगरपालिकाको यो कार्यलाई नेपालकै अन्य स्थानीय तहका लागि प्रेरणादायी ‘संरक्षण मोडल’ भएको बताउनुहुन्छ । गौशालामा मलमूत्रबाट बायोग्यासन्ट निर्माण गरी केन्द्रलाई स्वावलम्बी बनाइनु र हराइसकेका गिद्धहरूको पुनरागमन हुनुले व्यास नगरपालिकालाई ‘इको–मोडल’ नगरपालिकाको रूपमा स्थापित गरेको छ ।

प्रतिक्रिया