मेक्सिकोको विजयी सुरुआत

विश्व कप फुटबल २०२६

मेक्सिकोको विजयी सुरुआत

mecico

घरेलु समर्थकमाझ उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिकोले फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको छ।

मेक्सिको सिटी रंगशालामा बिहीबार राति भएको समूह ‘ए’ को खेलमा जुलियन क्विन्योनेस र राउल हिमेनेजले समान १ गोल गर्दै आयोजक टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए। उत्साहपूर्ण वातावरणबीच खेलको सुरुआतदेखि नै मेक्सिको हावी देखियो। खेलको पाँचौं मिनेटअघि नै इस्राएल रेयेसको क्रसमा राउल हिमेनेजले गरेको प्रहारलाई दक्षिण अफ्रिकाका कप्तान तथा गोलरक्षक रोनवेन विलियम्सले उत्कृष्ट बचाउ गरे ।

तर खेलको नवौं मिनेटमा मेक्सिकोले अग्रता लियो। एरिक लिराले दक्षिण अफ्रिकाका स्फेफेलो सिथोलेबाट बल खोसेपछि जुलियन क्विन्योनेसले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलरक्षक विलियम्सको खुट्टामुनिबाट जाली चुम्यो। पहिलो हाफमा दक्षिण अफ्रिकाले थप गोल खानबाट जोगियो। विलियम्सले हिमेनेजको हेडर रोके भने क्विन्योनेसको अर्को प्रयास पोस्टमा लाग्यो।

दोस्रो हाफमा दक्षिण अफ्रिकाको चुनौती थप कठिन बन्यो। खेलको ६०औँ मिनेटतिर गोलतर्फ अघि बढिरहेका हिमेनेजलाई सिथोलेले पेनाल्टी क्षेत्रको बाहिर लडाएपछि उनले रातो कार्ड पाएर मैदान छाड्नुपर्‍यो। एक खेलाडीले कम भएको दक्षिण अफ्रिकामाथि मेक्सिकोले दबाब बढायो। ६७औँ मिनेटमा क्विन्योनेस र हिमेनेजबीचको उत्कृष्ट पास आदानप्रदानपछि रोबर्टो अल्भाराडोले दिएको क्रसलाई हिमेनेजले हेडमार्फत गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए।

खेलको अन्त्यतिर दुवै टोलीले एक–एक खेलाडी गुमाए। दक्षिण अफ्रिकाका वैकल्पिक खेलाडी थेम्बा ज्वाने र मेक्सिकोका केन्द्रीय रक्षक सेजार मोन्टेसले रातो कार्ड पाए। मेक्सिकोले विश्वकपका उद्घाटन खेलमा लगातार आठौं पटक हार बेहोरेको छैन। यस अवधिमा उसले ६ खेल जितेको छ भने २ खेल बराबरी खेलेको छ। सन् २०१० को विश्वकप उद्घाटन खेलमा पनि मेक्सिको र दक्षिण अफ्रिकाले १-१ को बराबरी खेलेका थिए।

प्रतिक्रिया