पोखरा । कास्कीमा बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक यातायात सेवाबाट वञ्चित गरेको घटनामा संलग्न बसमाथि कारबाही गरिएको छ।


जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जेठ २३ गते पोखरा महानगरपालिका–३२ लेखनाथ क्षेत्रमा एक जना बौद्धिक अपाङ्गता भएका व्यक्तिले सार्वजनिक सवारी साधन रोक्न खोज्दा बस नरोकी हिँडेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त व्यक्तिले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
घटनाप्रति जिल्ला प्रहरी कार्यालय कास्कीको गम्भीर ध्यानाकर्षण भएपछि सम्बन्धित सवारी साधनको खोजतलास तथा आवश्यक कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई निर्देशन दिइएको थियो। अनुसन्धानका क्रममा ग २ ख २२५५ नम्बरको सार्वजनिक बसलाई नियन्त्रणमा लिई आवश्यक ट्राफिक कारबाही तथा जरिवाना गरिएको प्रहरीले जनाएको छ।

बस चालक तथा सम्बन्धित पक्षले आगामी दिनमा फरक क्षमता भएका व्यक्ति, बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता जनाएपछि सम्झाइबुझाइ गरी सवारी साधन छाडिएको प्रहरीले जनाएको छ। प्रहरीले सार्वजनिक यातायात सञ्चालनका क्रममा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा अन्य सेवाग्राहीप्रति संवेदनशील र जिम्मेवार व्यवहार गर्न सबै यातायात व्यवसायी तथा चालकलाई आग्रह गरेको छ।