युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा इन्जिनियर सरोज कायस्थ निर्वाचित

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा इन्जिनियर सरोज कायस्थ निर्वाचित

NYEF-Pkr

पोखरा । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखरा च्याप्टरको अध्यक्षमा युवा व्यवसायी इन्जिनियर सरोज कायस्थ निर्वाचित भएका छन् । शनिबार सम्पन्न मञ्चको २१औं साधारणसभा तथा १६औं अधिवेशनले कायस्थको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

मञ्चको नयाँ कार्यसमितिको प्रेसिडेन्ट इलेक्टमा विवेक श्रेष्ठ, प्रेसिडेन्ट नोमिनीमा हर्सल बिजुक्छे, प्रोग्राम चेयरमा सुरज श्रेष्ठ र फाइनान्स चेयरमा नुरज बाटाजू निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरूमा मानस श्रेष्ठ, प्रतीकराज पहारी, सौरव थापा, सिर्जन श्रेष्ठ, लकसन राज श्रेष्ठ र अस्मित भारी चयन भए । मञ्चको निवर्तमान अध्यक्षमा भने समेज राजभण्डारी रहेका छन् ।

नवनिवार्तित अध्यक्ष कायस्थले आफ्नो कार्यकालमा पोखरालाई केवल पर्यटन सहरमा मात्र सीमित नराखी ‘टेक्नोलोजी एन्ड इनोभेसन सिटी’ का रूपमा विकास गर्ने दीर्घकालीन सोच प्रस्तुत गरे । उनले पर्यटनको राजधानीका रूपमा परिचित पोखरामा सूचना प्रविधि क्षेत्रको अत्यन्तै उच्च सम्भावना रहेको उल्लेख गर्दै यसलाई सार्थक बनाउन योजनाबद्ध रूपमा लाग्ने बताए । यो सोचलाई व्यवहारमा उतार्न सूचना प्रविधि क्षेत्रमा युवाहरूको सहभाागिता बढाउने, आईटी सम्बन्धी स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने तथा उद्यमशीलता विकासका कार्यक्रमहरू सञ्चालन गर्ने उनको योजना छ ।

साथै गण्डकी प्रदेश सरकारद्वारा पोखरा महानगरपालिकाको मेतलाङ क्षेत्रमा प्रस्तावित आईटी पार्क निर्माण र सञ्चालनलाई प्रभावकारी रूपमा अघि बढाउन आफूले विशेष पहल गर्ने कायस्थले प्रतिबद्धता जनाए । यसका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र, शैक्षिक संस्था र सरोकारवाला निकायसँग आवश्यक सहकार्य र साझेदारी गर्ने उनले बताए । ‘प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको प्रवद्र्धनमार्फत पोखरामा गुणस्तरीय रोजगारीका अवसरहरू सिर्जना हुनेछन् र युवा प्रतिभाहरूलाई स्वदेशमै आफ्नो क्षमता प्रदर्शन गर्ने वातावरण निर्माण हुनेछ,’ उनले भने । यस्तो अभियानले लगानी आकर्षित गर्ने र समग्र क्षेत्रीय आर्थिक समृद्धिमा समेत उल्लेखनीय योगदान पुग्ने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष सुदिप घिमिरेले युवा उद्यमीहरूको समग्र हित र सामाजिक क्षेत्रमा मञ्चले सक्रियताका साथ काम गरिरहेको बताए । मञ्चको पोखरा च्याप्टरको काम गर्ने शैली र सक्रियता प्रशंसनीय रहेको उनको भनाइ थियो । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले देशको समग्र आर्थिक विकासमा युवा उद्यमीहरूले विशेष जोड दिनुपर्ने धारणा राखे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्यमशीलताका क्षेत्रमा मञ्चले महत्वपूर्ण योगदान पुर्‍याउन सफल भएको चर्चा गरे । उनले देशको आर्थिक, सामाजिक र नैतिक विकासमा समेत युवा उद्यमीहरूको भूमिका महत्वपूर्ण रहने कुरामा जोड दिए । मञ्चका निवर्तमान अध्यक्ष समेज राजभण्डारीले आफ्नो कार्यकाल सफल बनाउन योगदान गर्ने सबैलाई आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया

भर्खरै