पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को प्रमुख वायुसेवा कम्पनी फ्लाई दुबईको प्राविधिक टोलीले विमानस्थलको विस्तृत स्थलगत निरीक्षण तथा उच्चस्तरीय छलफल सम्पन्न गर्दै उडान सञ्चालनप्रति सकारात्मक संकेत दिएको छ।


फ्लाई दुबईका जोखिम व्यवस्थापनसम्बन्धी उपाध्यक्ष एड्रियन लुकासको नेतृत्वमा आएको टोलीले विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला तथा प्राविधिक कर्मचारीहरूसँग करिब ६ घण्टा लामो छलफल गरेको थियो। निरीक्षणका क्रममा धावनमार्ग, सुरक्षा प्रणाली, प्राविधिक पूर्वाधार तथा उडान सञ्चालनसँग सम्बन्धित विभिन्न पक्षहरूको सूक्ष्म अध्ययन गरिएको थियो।
निरीक्षणपछि टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग समेत भेटवार्ता गरेको थियो। सो अवसरमा उपाध्यक्ष लुकासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्राविधिक तथा सुरक्षा दृष्टिले पूर्ण रूपमा सक्षम र सुरक्षित रहेको प्रतिक्रिया दिएका छन्। उनले विमानस्थलको पूर्वाधार र तयारीबाट आफू प्रभावित भएको उल्लेख गर्दै फ्लाई दुबई पोखरा–दुबई दैनिक सिधा उडान सञ्चालन गर्न इच्छुक रहेको बताए।

“हामीले विमानस्थलको प्राविधिक र सुरक्षा पक्षको विस्तृत निरीक्षण गरेका छौँ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका लागि पूर्ण रूपमा सुरक्षित र तयार रहेको पाएका छौँ। पोखरा–दुबई दैनिक उडान सञ्चालन गर्ने हाम्रो इच्छा छ,” लुकासले भने। लुकासले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गराउन तथा उडान मार्ग सहज बनाउन पोखरा महानगरपालिकाले खेलेको समन्वयकारी भूमिकाको प्रशंसा गर्दै महानगर प्रमुख आचार्यलाई धन्यवादसमेत व्यक्त गरे।
फ्लाई दुबई विश्वप्रसिद्ध वायुसेवा कम्पनी इमिरेट्सको भगिनी एयरलाइन्स हो। फ्लाई दुबईले पोखराबाट नियमित उडान सुरु गरेपछि पोखरा इमिरेट्सको विश्वव्यापी सञ्जालसँग प्रत्यक्ष रूपमा जोडिनेछ। यसबाट पोखराको पहुँच विश्वका ३०० भन्दा बढी प्रमुख सहरसम्म विस्तार हुने अपेक्षा गरिएको छ। साथै युरोप, अमेरिका र अफ्रिकाका पर्यटकहरूले दुबई हुँदै सहज रूपमा पोखरा पुग्न सक्ने वातावरण बन्ने विश्वास गरिएको छ। उडान सञ्चालनलाई मूर्त रूप दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, फ्लाई दुबईका उच्च अधिकारी, कम्पनीका नेपाली प्रतिनिधि तथा पोखरा महानगर प्रमुख आचार्यको उपस्थितिमा पटक–पटक उच्चस्तरीय बैठकहरू सम्पन्न भइसकेका छन्।
महानगर प्रमुख आचार्यका अनुसार लामो समयदेखिको प्रयास, प्राविधिक निरीक्षण तथा सरोकारवालाबीचको गहन छलफलपछि नियमित उडानको मिति सार्वजनिक गर्ने चरण नजिक पुगेको छ। उनले फ्लाई दुबईको बढ्दो चासो र हालसम्म भएको प्रगतिले पोखरेली जनता तथा पर्यटन व्यवसायीहरूमा नयाँ उत्साह थपेको बताए। उनका अनुसार पोखरालाई विश्व बजारसँग प्रत्यक्ष जोड्न फ्लाई दुबईको दैनिक उडान कोसेढुङ्गा सावित हुनेछ। यो उडान सञ्चालनमा आए गण्डकी प्रदेशका नागरिकहरूले वैदेशिक रोजगारी, व्यापार तथा भ्रमणका लागि काठमाडौं जानुपर्ने बाध्यता घट्नेछ। साथै मध्यपूर्व लगायत विश्वका विभिन्न मुलुकबाट पर्यटकहरू सिधै पोखरा आउने मार्ग खुल्ने अपेक्षा गरिएको छ।