पोखरामा रगतको चरम अभाव

पोखरामा रगतको चरम अभाव

blood

पोखरा । पोखरामा रगतको चरम अभाव देखिएपछि नेपाल रेडक्रस सोसाइटी कास्कीले आकस्मिक रक्तदानका लागि आह्वान गरेको छ । विशेषगरी ‘एबी पोजेटिभ’ समूहको रगत मौज्दात कम हुँदै गएकाले बिरामीको माग धान्न कठिन हुने देखिएपछि प्रादेशिक रक्तसञ्चार सेवाले यस्तो अपिल गरेको हो ।

रक्तसञ्चार सेवाका अनुसार जेठ १९ देखि २३ गतेसम्म कुनै पनि नियमित रक्तदान कार्यक्रम तय नभएकाले यो अवधिमा रगतको हाहाकार हुनसक्ने जोखिम बढेको छ । सेवाका प्रमुख अर्जुन ज्ञवालीले सम्भावित संकट टार्न विभिन्न संघसंस्था, क्लब, आमा समूह, सहकारी र सामाजिक समूहहरूलाई आकस्मिक रूपमा रक्तदान कार्यक्रम आयोजना गरिदिन आग्रह गरे । ‘रगत अभाव हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै आकस्मिक रक्तदानका लागि आह्वान गरेका हौं,’ उनले भने ।

सानो प्रयासले कसैको जीवन बचाउन सक्ने भएकाले मानवीय भावना राखेर रक्तदानमा सहभागी भइदिन ज्ञवालीले अनुरोध गरे । पोखरामा रगतको माग उच्च हुने भएकाले यहाँ नियमित रूपमा यस्ता कार्यक्रमहरू भइरहनुपर्ने उनको भनाइ छ । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरामा अन्य छिमेकी जिल्लाहरूबाट समेत बिरामीहरू उपचारका लागि रिफर भएर आउने गर्छन् । यसले गर्दा यहाँ रगतको खपत र माग दुवै उच्च छ । प्रादेशिक रक्तसञ्चार सेवाको तथ्यांक अनुसार पोखरामा मात्रै दैनिक ७० देखि ८० युनिट रगत आवश्यक पर्ने गरेको छ । यस्तो अवस्थामा रगतको मौज्दात घट्दै जाँदा बिरामीको उपचारमा समस्या पर्न सक्ने देखिएको छ ।

प्रतिक्रिया