पोखरा। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पोखराको सेती नदीमा बन्दै गरेको पुलको काममा कुनै पनि बहानाबाजी नगर्न निर्देशन दिएका छन् । पोखरा–मुग्लिङ राजमार्ग सुधार चरण १ अन्तर्गत पृथ्वीचोकमा निर्माणाधीन पुलको भौतिक प्रगति बुझ्न मन्त्री लम्साल सोमबार स्थलगत अवलोकनमा पुगेका हुन् । उनले कुनै पनि हेलचेक्र्याईं नगरी तोकिएको समयमै आयोजना सम्पन्न गर्न निर्माण पक्षलाई सचेत गराए । अवलोकनमा मन्त्री लम्सालसँगै पर्यटन मन्त्री गनेस पौडेल पनि सहभागी थिए ।


पोखरा भित्रिने मुख्य प्रवेशद्वारका रूपमा रहेको यो पुल निर्माणका लागि २०७९ साउन २६ गते सम्झौता भएको थियो । ३ वर्षभित्र सक्ने लक्ष्य राखिए पनि चीनबाट सामग्री र जनशक्ति ल्याउन भएको कठिनाइले सुरुमा काममा ढिलाइ भएको थियो । यस्तै दुईवटा घरको मुआब्जा विवाद र २ मिटर नियमित बाटोको पहुँच माग गर्दै स्थानीयले गरेको अवरोधका कारण निर्माणले गति लिन सकेको थिएन । यिनै कारणले पुलको म्याद दुई पटक थप भइसकेको छ । पहिलो पटक २०८३ वैशाख २१ गतेसम्मका लागि म्याद थपिए पनि काम नसकिएपछि दोस्रो पटक २०८३ चैत १७ गतेसम्म म्याद बढाइएको छ ।
पुलको हालसम्मको भौतिक प्रगति ६०.१४ र वित्तीय प्रगति ५४.७५ प्रतिशत पुगेको छ । आयोजनाका प्रोजेक्ट म्यानेजर कृष्णबहादुर कुँवरले यसबारे मन्त्रीहरूलाई जानकारी दिए । ‘हामीले रफ्तारमा काम गरिरहेका छौं, तर प्राविधिक कारणले केही ढिलाइ हुन गएको हो,’ कुँवरले भने । उनले तल्लोपट्टीको पुलको काम चाँडै सकिने र उत्तरतर्फको काम पनि निर्धारित समयमै सम्पन्न गर्ने दाबी गरे । उनले उत्तरतर्फका दुई घरको मुआब्जा र बाटोको विवादले काममा केही असर परेको स्पष्ट पारे । विवादित घर हटाउने विषयमा कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले एक हप्ताको समय दिएकी छन् । ‘घरधनीसँग एक हप्ताभित्र घर हटाउने सहमति भएको छ, सहमति पालना नभए बल प्रयोग गरेर भए पनि हटाउँछौं,’ उनले भनिन् । अब यो कारणले निर्माणमा कुनै अवरोध हुन नदिने उनले प्रतिबद्धता जनाइन् । मुग्लिङ पोखरा सडक आयोजना निर्माण कम्पनी एमएस रसुवा कन्स्ट्रक्सनका कन्सल्टेन्ट लिडर एनरिको मग्नानीले पनि पुल निर्माणको काम सन्तोषजनक रहेको बताए । ‘हामीले हाम्रो सम्पूर्ण बल लगाएका छौं, आशा छ अब समयमै बन्छ,’ उनले भने ।

एसियाली विकास बैंक (एडिबी) को सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँको लागतमा यो पुल निर्माण भइरहेको हो । यो नेपालकै नमुना एक्स्ट्रा डोज प्रकारको पुल हुनेछ, जसको जग डिप फाउन्डेसन प्रविधिबाट तयार गरिएको छ । ब्रिफिङ सुनेपछि मन्त्री लम्सालले कुनै पनि समस्या भए सरकारलाई भन्न आग्रह गर्दै काममा ढिलासुस्ती नगर्न निर्देशन दिए । यो पुल सञ्चालनमा आएपछि पृथ्वीचोक र आसपासको क्षेत्रमा हुने अत्यधिक ट्राफिक जाम समाधान हुने अपेक्षा गरिएको छ । पोखरा रंगशाला नजिकै भएकाले खेलकुद सञ्चालनका बेला हुने सवारी चाप व्यवस्थापनमा पनि यसले ठुलो मद्दत पुर्याउनेछ । पोखरालाई देशका अन्य भागसँग जोड्ने मुख्य नाकामा यो पुल कोशेढुंगा साबित हुने मन्त्रीहरूले बताएका छन् ।