पाेखरा ।


कास्कीको मादी गाउँपालिका वडा नं. ८ को आयोजनामा जेठ ९ र १० गते सबुपोखरी पदमार्ग प्रवर्धन नाम दिएर ताङ्तिङ क्रपुडाँडा सबुपोखरी मिजुरेडाँडा ट्रेकिङ रुटमा २ दिने हाइकिङ कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल पर्यटन बोर्ड गन्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) सिक्लेस, मादी गाउँपालिका र सहभागी सबैको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
२ दिने हाइकिङ कार्यक्रममा पोखराका पर्यटन ब्यवसायी, टान गन्डकी प्रतिनिधि, गुरुङ पर्यटन ब्यवसायी संघका प्रतिनिधि, हाइकर्स क्लब नेपालका प्रतिनिधि, पोखराका ट्रेकर्स ग्रुप, एक्यापका प्रतिनिधी, मिडिया पत्रकार र मादी गाउँपालिका वडा नं. ८, ९, १०, १२ लगायतका स्थानीय सामाजिक कार्यकर्ताहरु, जनप्रतिनिधिहरु, शिक्षकहरु, युवा क्लबहरु गरि १३६ जना सहभागी रहेको आयोजक समितिका सचिव मीन बहादुर भट्टराईले जानकारी दिए ।
पहिलो दिन जेठ ९ गते पोखरा बाट र मादी – ८ बाट ताङ्तिङ्सम्म बसमा गइ ताङ्तिङको होमस्टेमा खाना खाएर त्यहाँबाट ४ घन्टाको उकालो हिडाइपछि क्रपुडाँडामा पुगेर १३६ जनाको टोलि बास बसेको थियो भने दोस्रो दिन जेठ १० गते क्रपुडाँडामा ब्रेकफास्ट खाएर त्यहाँबाट ६ घन्टाको ओरालो यात्रा गरि मादी – ८ मिजुरेको पर्क्यु गाउँमा खाना खाएर पोशी गाउँमा समापन गरि त्यहाँबाट मादी – ८ मिजुरेकै रबैडाँडा नागीधार, पाखुरीकोट गाउँ हुँदै मादी ९ को गोर्जे, मुग्री भएर बसमा पोखरा फर्किएको आयोजक समितिका सदस्य राजेन्द्र अधिकारीले बताए ।
पहिलो दिन जेठ ९ गते बिहान पोखरा -१३ काहुँखोलामा औपचारिक कार्यक्रम गरि मादी गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङ्ले ब्यानरमा हस्ताक्षर गरेर उक्त २ दिने हाइकिङ कार्यक्रमको उदघाटन गरेका थिए । उदघाटन गर्नुहुँदै अध्यक्ष गुरुङ्ले मादी – ८ र त्यहाँका युवा क्लबहरुको सक्रियतामा गरिएको २ दिने हाइकिङ कार्यक्रमले समग्र मादीको पर्यटन प्रवर्धनमा टेवा पुर्याएको भन्दै आयोजकलाई धन्यवाद समेत दिए ।

पर्यटनको निकै सम्भावना रहेतापनी ओझेलमा रहेको महशुस गर्दै सो पदमार्गलाई प्रवर्धन एवं प्रचारप्रसार गर्न र ३ तहका सबै सरकारहरुको ध्यान केन्द्रित गराउँन उक्त २ दिने हाइकिङ कार्यक्रम गरिएको कार्यक्रम संयोजक एवं मादी गाउँपालिका वडा नं. ८ का जनप्रतिनिधि ओम प्रकाश गुरुङ्ले बताए ।
मादी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रेम बहादुर गुरुङ्को अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा पोखराका पर्यटन ब्यवसायी एवं सामाजिक अभियान्त गणेश बहादुर थापा, टान गण्डकी अध्यक्ष कृष्ण आचार्य, हाइकर्स क्लबका अध्यक्ष कृष्ण रानाभाट लगायतले यस्ता कार्यक्रमहरुले पदमार्गको प्रवर्धन हुने र युवाहरुमा ट्रेकिङ सम्बन्धि जागरण हुने बताए ।