पत्रकार सूर्यचन्द्र र कृष्णमणि पाेखरामा सम्मानित

पत्रकार सूर्यचन्द्र र कृष्णमणि पाेखरामा सम्मानित

photo surya and krishna

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन र दयाशंकर पालिखेका परिवारद्वारा स्थापना गरिएको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मानबाट पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराललाई  आज पोखरामा सम्मान गरिएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार  बस्नेत र बराललाई उक्त प्रतिष्ठित पुरस्कार अर्पण गरे। सम्मानको राशि १ लाख १ हजार १११ रुपैयाँ र दाेसल्ला र सम्मान पत्र छ।

कार्यक्रममा बाेल्दै  प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीय रहेको उल्लेख  गरे ।  प्रमुख भट्टले नेपालका हरेक राजनीतिक र सामाजिक परिवर्तनहरूमा सञ्चार जगतले खेलेको भूमिका अतुलनीय रहेको बताए । ‘नेपाली पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय छ । पत्रकारिताको मर्यादा र नैतिकता कायम राख्दै समाज र राष्ट्र निर्माणमा अझै सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा लिएको छु ।’ भट्टले भने ।

पत्रकारिता पेसा मात्र होइन, यसलाई महत्वपूर्ण सामाजिक दायित्व र चुनौतीपूर्ण सेवाका रुपमा लिनुपर्नेमा जोड दिँदै उनले राष्ट्रको चौथो अङ्गका रूपमा समाजलाई सही मार्गमा अघि बढाउने जिम्मा पत्रकारिता जगतमै रहेको बताए । ‘सत्य, निष्पक्ष र उत्तरदायित्व वहन गर्दै सही सूचना समाचार प्रवाह गर्ने पत्रकारिता जगत राज्य र नागरिकबीचको सेतु हो । जसले पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।’ उनले भने ।

प्रदेश प्रमुख भट्टले प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना भएको उल्लेख गर्दै यो एआई डिजिटल युगमा आफूलाई समयानुकूल अपडेट गर्दै क्षमता अभिवृद्धितर्फ ध्यान दिनुपर्नेमा जोड दिए । आर्थिक सङ्कटले सञ्चारसंस्थाहरूको दिगोपनामा समस्या पार्ने खतरा देखापरिसकेकोमा चिन्ता व्यक्त गर्दै उहाँले नेपाली पत्रकारको पेसागत असुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या यथावत् रहेको र श्रमजीवी पत्रकारको पेशागत अधिकार स्थापित गर्दै सञ्चार संस्था तथा पत्रकारहरुको सबलीकरणको दिशामा राज्यले उचित ध्यान पुर्‍याउनुपर्ने मनन पनि गरे । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चार र सूचनाको हकलाई नेपालको संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । संवैधानिक रूपमै व्यवस्थित गरिएका ती हकहरूको पूर्णरूपमा संरक्षण र कार्यान्वयन गर्दै जिम्मेवार र मर्यादित पत्रकारिताको विकासका लागि सबै पक्षले ध्यान दिनुपर्दछ ।’ प्रदेश प्रमुख भट्टले भने ।

पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी रवीन्द्रनाथ बास्तोला, प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी, पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष रामकृष्ण ज्ञवाली र पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बराल र सचिव भूपाल गुरुङ सदस्य  रहेको प्रतिभा छनोट समितिले उनीहरुलाई सम्मान गर्न सिफारिस गरेको थियाे ।  तनहुँको व्यास नगरपालिका वडा नम्बर २ दमौलीमा जन्मिएका बस्नेत विगत ३० वर्षदेखि पत्रकारितामा सक्रिय छन् ।

राष्ट्रिय समाचार समितिमा वरिष्ठ सम्पादकको रुपमा कार्यरत बस्नेतले राष्ट्रपुकार साप्ताहिक, हिमालय टाइम्स, नेपाल समाचारपत्र र आदर्श समाज दैनिकमा पनि काम गरेका थिए । पोखरा ७ नुवारथोकमा जन्मिएका बराल २०५५ सालदेखि पत्रकारिमा सक्रिय छन् । बराल बिबिसी नेपाली सेवा, अन्नपूर्ण पोस्ट दैनिक र इनेचर न्युज डटकममा कार्यरत छन् । बरालले दी हिमालय टाइम्स, समाधान दैनिक, देशान्तर साप्ताहिक, नेपाली टाइम्स पनि काम गरेका थिए । पत्रकाद्वयलाई पत्रकारितामार्फत् समाज, राष्ट्र र लोकतन्त्रमा पुर्‍याएको योगदान स्वरुप सम्मान  गरिएको हो ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिभा छनाेट समितिका स‌ंयाेजक रवीन्द्र बास्ताेला, सम्मान स्थापनाकर्ता सुनयना पालिखे, प्रेस युनियन कास्की अध्यक्ष वासुदेव मिश्र, पाेखरा पर्यटन परिषद्का अध्यक्ष ताराप्रसाद पहारी, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी र सचिव भूपाल गरुङले प्रजातन्त्र सेनानी दयाश‌ंकर  पत्ररकार महासंघ र पत्रकारिताको बारेमा चर्चा  गरेका थिए ।

प्रतिक्रिया

भर्खरै