पोखरामा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ४ जना पक्राउ, २ बालिका उद्धार

पोखरामा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ४ जना पक्राउ, २ बालिका उद्धार

police office kaski

पोखरा । पोखरामा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा चार जना पक्राउ परेका छन् भने दुई बालिकाको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार  वैशाख ५ गते साँझ करिब ७ बजे पोखरा महानगरपालिका वडा नं. ८ जाल्पारोड क्षेत्रमा रहेका विभिन्न खाजाघरहरूमा होहल्ला र अनैतिक गतिविधि भइरहेको सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो।

उक्त स्थानबाट दुई जना बालिकालाई उद्धार गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङ स्थायी घर भई हाल पोखरा–१७ बस्ने २१ वर्षीया महिला (परिवर्तित नाम “कास्की ६८”), सिन्धुली घर भई पोखरा–८ बस्ने ३१ वर्षीया खाजाघर सञ्चालक (परिवर्तित नाम “कास्की ६९”), पोखरा–२६ बुढीबजार बस्ने ५० वर्षीय विष्णु बहादुर राजभाट र भारतको बिहार घर भई पोखरा–९ नयाँबजार बस्ने ३१ वर्षीय अमिर उल्ला मिया रहेका छन्।

प्रहरीले अनुसन्धानका क्रममा आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई प्रलोभनमा पारेर होटलमा राम्रो तलबसहित काम लगाइदिने भन्दै ल्याउने, सुरुमा सामान्य काममा लगाएर पछि जबरजस्ती अनैतिक कार्यमा संलग्न गराउने र होटलमा आउने पुरुषहरूसँग रकम लिई रात बिताउन बाध्य बनाउने गरिएको खुलासा भएको  प्रहरीकाे भनाइ छ।

पक्राउ परेकाहरूमाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा कास्की जिल्ला अदालत बाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया