पोखरा । गण्डकी प्रदेशका उद्योगहरुले चाउचाउ, चुरोट र बियर जस्ता उत्पादन अत्यधिक बढाएका छन् । नेपाल राष्ट्र बैंकले गरेको गण्डकी प्रदेशको आर्थिक गतिविधिसम्बन्धी प्रतिवेदनले केही उत्पादनहरुमा उल्लेख्य वृद्धि भएको देखाएको हो । आर्थिक वर्ष २०८१/८२ मा चाउचाउको उत्पादन सर्वाधिक बढेको छ । ४४.९८ प्रतिशत उत्पादन चाउचाउमा बढेको उक्त प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, क्याप्सुल औषधीमा पनि १५.५६ प्रतिशत बढेको छ भने बियर उत्पादन १२.२६ प्रतिशत बढेको छ । चुटोरको उत्पादन १०.५३ प्रतिशत, प्रशोधित दुध ३.४८ प्रतिशत, ड्राई सिरप औषधी २.१९ प्रतिशत र तोरीको तेल १.८ प्रतिशत उत्पादन बढेको छ । २०८०/८१ मा ४ हजार १ सय ३ मेट्रिक टन उत्पादन भएको चाउचाउ बढेर पछिल्लो वर्ष ५ हजार ९ सय ४९ मेट्रिक टन पुग्यो ।
यस्तै, बियर पनि ९ करोड ४० हजार लिटरबाट बढेर १० करोड ५६ हजार लिटर उत्पादन भएको छ । चुरोट ३ अर्ब ५७ करोड ३० लाख खिल्लीबाट उत्पादन बढेर ३ अर्ब ९४ करोड ९३ लाख खिल्ली पुगेको छ । चक्लेट, बिस्कुट, ट्याबलेट औषधीलगायतको उत्पादन भने घटेको छ । चक्लेट २०८०/८१ मा ३ हजार १ सय ९ मेट्रिक टन उत्पादन भएकोमा पछिल्लो वर्ष २ हजार ९ सय ४३ मेट्रिक टन मात्रै उत्पादन भएको छ । बिस्कुट पनि २०८०/८१ मा ७ हजार १ सय १६ मेट्रिक टन उत्पादन भएकोमा पछिल्लो वर्ष घटेर ६ हजार ६ सय ८ मेट्रिक टन मात्रै उत्पादन भयो । ट्यावलेट औषधी १ करोड ६२ लाख थान उत्पादन भएकोमा पछिल्लो वर्ष घटेर १६ करोड २५ लाख थान मात्रै उत्पादन भएको छ ।
प्रदेशभित्रका उद्योगमा उत्पादन क्षमता आर्थिक वर्ष २०८०÷८१ मा भन्दा पछिल्लो वर्ष २०८१/८२ मा घटेको देखाएको छ । समीक्षा वर्षमा औद्योगिक क्षेत्रको समग्र औसत उत्पादन क्षमता उपयोग ३९.१९ प्रतिशत देखिएको छ । यो अंक आव २०८०/८१ मा भन्दा ०.०३ प्रतिशतले कम हो । तथ्यांक विश्लेषण आधारमा सबैभन्दा बढी बिस्कुट उद्योगले ६५.३१ प्रतिशत क्षमता उपयोग गरेको छ । यसपछि बियर उद्योगले ६४.६ प्रतिशत, लिक्विड औषधीले ६०.२३ प्रतिशत, चुरोटले ५४.८५ प्रतिशत र तोरीको तेल उत्पादन गर्ने उद्योगले ५०.९९ प्रतिशत क्षमता उपयोग गरेका छन् । गण्डकीका उद्योगमा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने वस्तुको उत्पादन क्षमता भने निकै कम देखाइएको छ ।
इँट्टा उद्योगको उत्पादन क्षमता १९.७६ प्रतिशत मात्रै छ भने आइन्टमेण्ट औषधीको उत्पादन क्षमता १४.९ र ड्राई सिरप औषधीमा ६.३७ प्रतिशत मात्रै क्षमता उपयोग भएको छ । यद्यपि, गण्डकीको औद्योगिक उत्पादन मिश्रितखालको छ । केही प्रमुख बस्तुहरुको उत्पादनमा उल्लेख्य वृद्धि भए पनि केहीमा भने निकै घटेको छ । औद्योगिक क्षेत्रको विकासका लागि प्रवाह हुने वित्तीय सहयोग पनि कम भएको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट औद्योगिक क्षेत्रमा हुने कर्जा प्रवाहमा झण्डै १० प्रतिशत गिरावट भएको हो । २०८१/८२ मा २७ अर्ब ९१ करोड कर्जा प्रवाह भएको देखिएको छ । प्रदेशको कुल कर्जामध्ये ७.८२ प्रतिशत उद्योगमा लगानी भएको तथ्यांक निकालिएको छ ।
निर्माणतर्फ सर्वाधिक २९.८७ प्रतिशत कर्जा प्रवाह भएको छ भने गैरखाद्य वस्तु उत्पादनमा २९.३८ प्रतिशत र कृषि, वन तथा पेय पदार्थ उत्पादनमा २७.३ प्रतिशत कर्जा प्रवाह भएको छ । आधारभूत पूर्वाधारको अभावले उद्योगको विकास हुन नसकेको अध्ययनको निष्कर्ष छ । खासगरी यातायात, सञ्चार र बिजुलीको समस्या बढी देखाइएको छ भने आवश्यक प्राविधिक जनशक्ति र कच्चा पदार्थको सहज आपूर्ति हुन नसकेको टड्कारो पनि उठाइएको छ । आयात प्रतिस्थापन गर्न सक्ने वस्तुहरूको पहिचान र बजारीकरणमा ध्यान दिन नसकेको औंल्याइएको छ ।
गण्डकी प्रदेश सरकारले नवलपुरको लोकाहाखोला र कास्कीको पुँडीटारमा प्रदेश स्तरीय औद्योगिक क्षेत्र स्थापनाको लागि काम गरिरहेको छ । औद्योगिक क्षेत्र बन्न सके उद्योग स्थापना र उत्पादनमा प्रोत्साहन गर्न सहज हुने अध्ययनले निष्कर्ष निकालेको छ । खाद्य सामग्री र अन्य उत्पादनको माग बढाउन पर्यटनकेन्द्रित उत्पादन आवश्यक रहेको प्रतिवेदनले जनाएको छ । आजको आदर्श समाज दैनिकमा समाचार छ ।