ब्राउन सुगर १०२ ग्रामसहित पोखरामा महिला पक्राउ

ब्राउन सुगर १०२ ग्रामसहित पोखरामा महिला पक्राउ

lagu

पोखरा । कास्की प्रहरीले लागू औषध कारोबारमा संलग्न एक महिलालाई ठूलो परिमाणको ब्राउन सुगर र नगदसहित पोखरामा पक्राउ गरेको छ। वैशाख १० गते अपराह्न करिब  ३:०० बजे, पोखरा महानगरपालिका–११ फूलवारी क्षेत्रमा लागू औषधको बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त टोलीले उक्त कारबाही गरेको हो।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका–६ स्थायी घर भई हाल पोखरा–११ फूलवारी भानुमार्गस्थित डेरामा बस्दै आएकी २७ वर्षीया मन्दिरा मगरको कोठामा खानतलासी गरिएको थियो। तलासीका क्रममा खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ १०२.३७ ग्राम फेला परेको छ, जसलाई तत्काल डिजिटल तराजुबाट तौल गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, कोठाबाट नगद रु. ९ लाख, एक थान डिजिटल तराजु र एक थान मोबाइल समेत बरामद गरिएको छ। पक्राउ परेकी मगरलाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया