भूकम्प स्मृति दिवसः २०७२ को त्रासदी सम्झिँदै सचेतनाको सन्देश

भूकम्प स्मृति दिवसः २०७२ को त्रासदी सम्झिँदै सचेतनाको सन्देश

Earthquake

फाइल तस्बिर ।

काठमाडौं । आज वैशाख १२ गते । नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको स्मृतिमा देशभर विभिन्न कार्यक्रम गरी भूकम्प स्मृति दिवस मनाइँदैछ।

वि.सं. २०७२ वैशाख १२ गते शनिबार पूर्वाह्न ११:५६ बजे  गाेखराको बारपाकलाई केन्द्र विन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पले नेपालभर ठूलो जनधनको क्षति पुर्‍याएको थियो। भूकम्पका कारण करिब ९ हजार जनाको ज्यान गएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए। हजारौं घर, ऐतिहासिक सम्पदा तथा भौतिक संरचना ध्वस्त भएका थिए।

विशेषगरी गोरखा, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, काठमाडौं उपत्यकासहितका १८ वटा जिल्लाहरूमा भूकम्पको प्रभाव अत्यधिक परेको थियो। धरहरा लगायतका ऐतिहासिक संरचनाहरू भत्किएका थिए भने ग्रामीण क्षेत्रमा ठूलो मात्रामा बस्ती विस्थापित भएको थियो। यस दिवसका अवसरमा सरकार, विभिन्न संघसंस्था तथा स्थानीय तहहरूले श्रद्धाञ्जली अर्पण, सचेतनामूलक कार्यक्रम, विपद् व्यवस्थापन सम्बन्धी अभ्यास तथा भूकम्प प्रतिरोधी संरचना निर्माणबारे जनचेतना फैलाउने कार्यक्रम आयोजना गरिरहेका छन्।

विज्ञहरूले भूकम्प जस्ता प्राकृतिक विपदबाट जोगिन पूर्वतयारी, सुरक्षित भवन निर्माण र जनचेतना अत्यन्त आवश्यक रहेको बताउँदै आएका छन्। भूकम्पले दिएको पीडा र पाठलाई स्मरण गर्दै भविष्यमा यस्ता विपदबाट हुने क्षति न्यूनीकरणमा सबैको साझा प्रयास आवश्यक रहेको सरोकारवालाहरूको जोड छ।

प्रतिक्रिया