पोखरा सभागृहबाट सुरु गर्‍याे महानगरपालिकाले सेवा

पोखरा सभागृहबाट सुरु गर्‍याे महानगरपालिकाले सेवा

1-Pokhara-Mahanagar-Sewa-Suru-News-scaled

पोखरा । जेनजी आन्दोलनका क्रममा पोखरा महानगरपालिकाको भवन खरानी बन्यो । कार्यालय, फर्निचर, फाइलदेखि लिएर कम्प्युटर, सर्भरसमेत ध्वस्त भएका कारण भदौ २४ गतेदेखि सबै सेवा पूर्ण रूपमा रोकिए । वडा कार्यालयहरुमा पनि तोडफोड र आगजनी भयो ।आन्दोलनपछिको असामान्य अवस्थाबीच महानगरले बिहीबारदेखि वैकल्पिक स्थानबाट सेवा सुरु गरेको छ । बुधबारदेखि सेवा दिने सूचना जारी भएकोमा शोक बिदा परेकाले बिहीबारदेखि मात्र सेवा थालिएको हो । महानगरले पोखरा सभागृहलाई अस्थायी कार्यालय बनाएको छ ।

नगरबासीको काममा बाधा नपुगोस् भनी पोखरा महानगरले विभिन्न स्थानबाट सेवा थालेको छ । पोखरा महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले आन्दोलनका क्रममा बचेका र कम क्षति भएका भवनहरु प्रयोगमा ल्याइएको जनाए । केही महाशाखा आन्दोलनकारीबाट जोगिएका थिए । ड्यामसाइड स्थित शिक्षा महाशाखा, सृजनाचोकमा रहेको सामाजिक विकास, लेखनाथको स्वास्थ्य, न्युरोडमा रहेको पूर्वाधार विकास (तोडफोड तर कम क्षति), जनप्रिय क्याम्पस अगाडिको आर्थिक विकास महाशाखा काम चलाउन योग्य छन् । सूचना अधिकारी तिवारीले अरु महाशाखा र सेवाहरु पोखरा सभागृह र सोही स्थानमा रहेको व्यवसाय प्रवद्र्धन केन्द्रबाट पनि सुरु भएको सुनाए ।
महानगरले नै पोखरा ९ स्थित शान्तिवनमा बनाएको दमकलमा रहेको भवनमा पनि अस्थायी कार्यालय राखिएको छ । उक्त भवन दमकल र नगर प्रहरी ब्यारेकका लागि बनाइएको थियो । भर्खर बनेको भवनमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सार्वजनिक लेखा समिति, कानुन, सरसफाइ, सूचना प्रविधि र दमकल सञ्चालन हुने छन् । सभागृहमा प्रशासन महाशाखा, भण्डार, तथ्यांक, विपद, उजुरी फछ्र्यौट, अभिलेखीकरण, पञ्जीकरण, लेखा, नगर प्रहरी रहने छन् । सोही ठाउँमा रहेको व्यवसाय प्रवद्र्धन केन्द्रको भवनमा राजस्व र सहरी विकास महाशाखाको काम हुनेछ । ‘यी सबै अस्थायी संरचना हुन् । मिलाउँदै जाँदा हामीले पहिले सूचना प्रवाह गरेकोभन्दा केही फरक स्थानमा पनि पर्न सक्छन्,’ सूचना अधिकारी तिवारीले भने ।

प्रशासन महाशाखासहित राजस्व, लेखा जस्ता महत्वपूर्ण फाँट सभागृहमा भएकाले बिहीबार त्यहाँ सेवाग्रहीको भीड सामान्य दिन जस्तै देखिन्थ्यो । कतिपयले लामो समय रोकिएका काम सकाउन धैर्यपूर्वक प्रतीक्षा गरे भने कतिपयलाई डिजिटल भुक्तानीमा अड्किनु प¥यो । केहीलाई अत्यास पनि लागिरहेको देखियो । पोखरा १० मिलनटोलबाट राजस्व तिर्न सभागृह पुगेका डिलबहादुर गुरुङले महानगरको हालत देखेर दुख लागेको बताए । भ्रष्ट नेता तह लगाउने नाममा राज्यकै सम्पति नाश गर्नाले जनतालाई नै दुख हुने उनको प्रतिक्रिया छ । ‘पहिले एउटै अफिसबाट सबै काम हुन्थ्यो । अहिले त एउटा काम गर्न एक ठाउँ अर्कोका लागि अर्को ठाउँ जानुपर्ने भयो । पहिले त काम ढिला हुन्थ्यो अब झन के हुने हो,’ उनले भने, ‘भ्रष्टाचार भएकै थियो । भ्रष्टचारीलाई तह लगाउन अर्कै उपाय पनि अपनाउन सकिन्थ्यो होला नि ।’

उनी मालपोत कर तिर्न आएका थिए । नगद लिएर आएका उनीसँग नगद नलिइने भनेपछि केही बेर उनी अन्यमनस्कमा परे । पछि कर्मचारीले क्युआरमार्फत भुक्तानी गर्न सकिने बताइदिए । ‘मैले मोबाइलमार्फत तिरेँ, खुसी छु । यो अप्ठेरो अवस्थामा कसलाई के भन्नु छ र,’ नाम नलेखिदिन आग्रह गर्दै एक सेवाग्रहीले भने । बागलुङ बसपार्क क्षेत्रबाट सम्पत्ति कर तिर्न आएका अर्का सेवाग्रहीले फाइल जलेका कारण ढिलाइ भए पनि यस्तो अवस्थामा पनि सेवा सुरु हुनुलाई सुखद भएको टिप्पणी गरे । दिउँसो १ बजेसम्म महालेखा कार्यालयमार्फत नियन्त्रण हुने सर्भर नचलेपछि सबै काम रोकिएका थिए । त्यसपछि मात्रै ४७ जनाले सेवा लिएको राजस्व प्रशासन महाशाखा प्रमुख नवराज पौडेलले जानकारी दिए ।
सेवाग्रहीले घरबाहल कर, व्यवसाय कर, नगदी रसिद, सम्पत्ति कर, मालपोत कर र सिफारिस पत्र लगायतका सेवा लिएको उनले जानकारी दिए । पौडेलका अनुसार बिहीबार दिनभर नगद कारोबार भएको भएन । ‘महालेखा कार्यालयको सर्भर नचल्दा पनि चलेन । हामीले सकेसम्म क्युआर नै गर्नुहोस् भन्यौं । नगदमा काम गरेनौं । हामीले सेवाग्रहीलाई क्युआरमार्फत मात्रै कर तिर्न आग्रह गरर्यौं,’ पौडेलले भने ।

अधिकांश सेवाग्रहीले गुनासाभन्दा बढी सकारात्मक प्रतिक्रिया दिएका छन् । आन्दोलनपछि सेवाग्राहीका काम लामो समय अड्किएको भन्दै अहिले सेवामात्रै सुरु हुनु प्रशंसनीय भएको उनीहरुले सुनाए । ‘पुरानो भवन जलेर खरानी बनेको देख्दा मन दुख्छ । तर, वैकल्पिक व्यवस्था गरेर महानगरले सेवा सुरु गरिदिएकोमा धन्यवाद छ,’ ती सेवाग्राहीले भने । शान्तिवन स्थित दमकलको भवनमा आवश्यक सामान राख्ने तयारी भइरहेको पोखरा महानगरका प्रमुखका स्वकीय सचिव पूर्ण लामाले जानकारी दिए । त्यहाँ रहने कार्यालय, शाखा सञ्चालनका लागि अझै केही समय लाग्नेछ । उक्त स्थानमा तयारी हुँदै गरेपनि अन्य स्थानबाट सेवा प्रवाहमा समस्या नरहेको लामाले जानकारी दिए ।

आन्दोलनका क्रममा पोखराका अधिकांश वडामा क्षति पुगेको छ । वडाहरुले पनि सेवा सुरु गरिसकेका छन् । पोखराका ९ वटा वडामात्र सुरक्षित रहेको पोखरा महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले जानकारी दिए । महानगरका ग्रामीण भेगका वडामा आन्दोलनकारीले क्षति पु¥याउन भ्याएनन् । वडा नम्बर २१, २२, २३, २४, २६, २७, २८, ३१ र ३३ मा कुनै क्षति भएको छैन । वडा नम्बर ६, ७, १७, १८, १९, २०, २५, २९, ३० र ३२ मा आंशिक क्षति पुगेको छ । वडा नम्बर १, २, ३, ४, ५, ८, ९, १०, ११, १२, १३, १४, १५ र १६ का वडा कार्यालयहरु कामै नलाग्ने अवस्थामा पुगेका छन् । सुरक्षित रहेका वडाहरुमा पनि ढुंगा प्रहार भई झ्यालढोकामा क्षति पुगेको छ ।

आंशिक र पूर्ण क्षति भएका वडाबाट सेवा सुचारु गर्नका लागि उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत र शाखा अधिकृतसहितको बैठकले कमचलाउका लागि सामान किन्ने निर्णय गरेको छ । ‘मेयर सा’ब बाहिर नुभएकाले उपमेयरज्यूको अध्यक्षतामा बैठक बसी २ वटा कम्प्युटर सेट, ३ टेबल कुर्ची सेट वडाकै बजेटमा किनेर कार्यालय सञ्चालन गर्नका लागि निर्णय गरि पठाएका छौं,’ उनले भने, ‘कतिपय वडामा विभिन्न संघ। संस्था, व्यक्तिले सहयोग गर्नुभएको छ भन्ने सुनेका छौं । स्थानीयको यो काम निकै सराहनीय छ ।’

प्रतिक्रिया